युक्रेनमा रुसले गर्‍यो ५० भन्दा बढी क्षेप्यास्त्र प्रहार

रुस। रुसले युक्रेनका संवेदनशील पूर्वाधारलाई निशाना बनाएर ५० वटाभन्दा बढी क्षेप्यास्त्र प्रहार गरेको छ। रुसले लामो दूरीमा लक्ष्य भेदन गर्न सक्ने आफ्नो अस्त्रले युक्रेनको सैन्य इलाका र ऊर्जा प्रणालीलाई निशाना बनाएको बताएको बीबीसीले जनाएको छ। रुसको रक्षा मन्त्रालयले तोकिएका सबै लक्ष्यमा प्रहार भएको दाबी गरेको छ। रुसको क्षेप्यास्त्र प्रहारबाट धेरै स्थानमा बिजुली र पानीको आपूर्ति नराम्ररी प्रभावित भएको युक्रेनी अधिकारीहरूले बताएका छन्। अधिकारीहरूका अनुसार राजधानी किभका ८० प्रतिशत बासिन्दा खानेपानीको पहुँचबाट वञ्चित भएको र ३ लाख ५० हजार अपार्टमेन्टमा विद्युत् आपूर्ति बन्द भएको छ ।

उत्तर पूर्वी शहर खार्किभमा पनि विद्युत् प्रणालीमा आक्रमण भएको छ। युक्रेनको हवाइ प्रतिरक्षा प्रणालीले ५० वटा क्रुज क्षेप्यास्त्रमध्ये ४४ वटा खसालिदिएको वायुसेनाले जनाएको छ। युक्रेनले रुसी आक्रमणमा १३ जना घाइते भएको जानकारी दिए पनि हताहत भए्नभएकोबारे विवरण आएको छैन।

तपाईको प्रतिक्रिया