काठमाण्डौ – कात्तिक कृष्ण औँसीका दिन आज ग्रस्तास्त खण्डग्रास सूर्यग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।ग्रहणले आज दिउँसो ४ बजेर ५२ मिनेटमा स्पर्श गर्नेछ । ग्रहण लागेको ३२ मिनेटपछि बेलुकी ५ बजेर २४ मिनेटमा सूर्यास्त हुने समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिए ।
ग्रहणले बेलुकी पौने सात बजे छोड्नेछ । ३२ मिनेट नेपालबाट ग्रहण देखिने उनले बताए । खण्डग्रास सूर्यग्रहण पहाडी र खुल्ला क्षेत्रबाट मात्रै देखिने नेपाल एस्ट्रोनोमिकल सोसाइटीले जनाएको छ । खण्डग्रास सूर्यग्रहणमा चन्द्रमाले सूर्यको केही भाग मात्र छेकेको देखिन्छ । सम्म परेका भूभागबाट ग्रहण देख्न कठिन हुने सोसाइटीले जनाएको छ ।
नाङ्गो आँखाले भने ग्रहण हेर्न नहुने सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले उनले बताए । विशेष किसिमको चस्मा लगाएर वा पानीमा छायाँ पारेर हेर्न सकिने उनले बताए । ग्रहणका समयमा स्नान, दान, श्राद्ध, जप, ध्यान, साधनालगायत कर्म गर्न शुभ मानिन्छ । यसैबीच,यही महिनाको २२ गते मङ्गलवार ग्रस्तोदित खग्रास चन्द्रग्रहण लाग्दैछ । कात्तिक महिनाको कृष्ण पक्षको औँसीमा सूर्य र शुक्ल पक्षको पूर्णिमामा चन्द्रग्रहण लाग्नेछ । औँसीमा सूर्य र पूर्णिमामा चन्द्रग्रहण लाग्छ ।
कुन राशिका लागि ग्रहणको फल कस्तो ?
तपाईँ ज्योतिषशास्त्रको फलादेशमा विश्वास गर्नुहुन्छरु गर्नुहुन्छ भने ग्रहणले कुन राशिलाई कस्तो फल दिन्छ भन्ने बताइएको हुन्छ। पञ्चांग निर्णायक समितिले मान्यता दिएको पात्रोमा कुन राशिलाई मंगलबारको सूर्यग्रहणले कस्तो फल दिन्छ भन्ने उल्लेख छ। पञ्चांगका अनुसार यो ग्रहण वृष, सिंह, धनु र मकर राशिलाई शुभ छ।
मेष, मिथुन, कर्कट, कन्या, तुला, वृश्चिक, कुम्भ र मीन राशिलाई अशुभ हुने बताइएको छ। मेष राशि भएकालाई स्त्रीपीडा, वृष राशिकालाई सुख, मिथुन राशिकालाई चिन्ता र कर्कट राशिकालाई व्यथा फल बताइएको छ। सिंह राशिकालाई श्रीप्राप्ति, कन्या राशिवालालाई क्षति, तुला राशिकालाई घात, वृश्चिक राशिकालाई व्यय र धनु राशिलाई लाभ फल उल्लेख छ। यस्तै मकर राशिवालालाई सुख, कुम्भ राशिकालाई माननाश र मीन राशिवालालाई कष्टको योग छ।


दर्शन खबर । ८ कार्तिक २०७९, मंगलवार