कार्तिक कृष्ण औँसी : गाईको पूजा गरी मनाइँदै

काठमाण्डौ – कार्तिक कृष्ण औँसी अर्थात् गाईतिहार। सोमबार देवी लक्ष्मीको प्रतीकस्वरूप गाईको पूजा गरिँदैछ। विधिपूर्वक गाईको पूजा गरी खानेकुरा खान दिने परम्परा छ। औँसीका दिन बिहान गाईपूजा गर्ने र साँझ लक्ष्मीपूजा गर्नुपर्ने विधि भए पनि तिथिको घटबढका कारण यो वर्ष दुई दिन परेको छ। सोमबार अपराह्न नै औँसी तिथि लागेपछि साँझ लक्ष्मीपूजा गरिएको छ।

सोमबार २७ घडी १५ पला अर्थात् अपराह्न ५ बजेर ४ मिनेटमा औँसी लागेको हो। मंगलबार २५ घडी ५७ पला अर्थात् अपराह्न ४ बजेर ३३ मिनेटसम्म औँसी रहने पञ्चांग निर्णायक विकास समितिले जनाएको छ। स्थानीय जातका गाईमा हुने जुरोले सूर्य र चन्द्रमाबाट ऊर्जा लिई दूध, गहुँत र गोबरका माध्यमबाट मानिसमा शक्ति दिने भएकाले गाईको महत्व छ भनी आधुनिक विज्ञानले पनि प्रमाणित गरेको छ ।

गाईको पूजा गरी आजका दिन मीठामीठा परिकार खान दिएमा गाईबाट पाइने शुद्धता सधैँ प्राप्त हुने धार्मिक विश्वास छ । नेपालका कतिपय भाग र केही समुदायमा कात्तिक कृष्ण औँसीकै दिनमा गाई पूजा गर्ने परम्परा रहे पनि औँसीको अन्त्य र प्रतिपदाको सुरुमा गाई पूजा गर्नुपर्ने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् प्राडा रामचन्द्र गौतमले जानकारी दिनुभयो ।वैदिक सनातन हिन्दू धर्मावलम्बीले गर्ने हरेक कर्ममा गाईदान गर्ने विधि छ । पछिल्लो समय गाईको अभावमा पैसा राखेर गाईको अभावमा भनी सङ्कल्प पढिन्छ ।

गाईलाई गौमाताका रुपमा सम्मान पनि गरिन्छ । गाईलाई सम्मानका साथ राष्ट्रिय जनावरका रुपमा राखिएको छ । आज गाई पूजा गरी साउन शुक्ल पूर्णिमाका दिनमा दाहिने हातमा बाँधिएको रक्षाबन्धन गाईको पुच्छरमा बाँधिदिएमा मृत्युपश्चात् गाईले स्वर्ग जानका लागि वैतरणी नदी तारिदिने धार्मिक विश्वाससमेत रहेको छ ।


तपाईको प्रतिक्रिया