अहिले आपसमा झगडा गर्ने होइन, गठबन्धन टिकाउने हो : देउवा

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनका कारण कोही पनि राष्ट्र र राष्ट्रिय एकताको बिरुद्धमा जान नसक्ने बताएका छन् । सोमबार काठमाडौँमा आयोजित सत्तारुढ गठबन्धनको वागमती प्रदेशस्तरीय संयुक्त भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले गठबन्धनका कारण कोही पनि राष्ट्र र राष्ट्रिय एकताको विरुद्धमा जान नसक्ने बताएका हुन्। उनले कसैले प्रजातन्त्र बिरोधी कार्य गर्न पनि नसक्ने बताए। उनले गठबन्धन कायम रहेमा समावेशिताको खिलाफमा पनि कोही जान नसक्ने बताए।

प्रधानमन्त्री देउवाले अहिले संक्रमणकालीन समय भएकाले आपसमा झगडा गर्नु नहुने बताए। गठबन्धनलाई टिकाएर देश विकासको बाटोमा जानुपर्ने उनको भनाइ छ। उनले गठबन्धनका कारण सबैले टिकट पाउन नसकेको भन्दै सबैलाई न्यायपूर्ण तरिकाले चुनावमा उठाउने प्रयास गर्ने बताए।

‘गठबन्धनको कारणले सबैले टिकट पाउँदैनन् । यो हाम्रो पार्टीमा पनि, हरेक पार्टीमा त्यही समस्या होला। गठबन्धन छ चुनाव जितिहाल्छु टिकट चाहियो भन्ने पनि छ अहिले । भोलिको दिनमा अझ यसलाई बढाउन सकिन्छ । भरसक म न्यायपूर्ण तरिकाले साथीहरुलाई चुनावमा उठाउने प्रयास गर्नेछु।’ उनले भने, ‘हरेक पार्टीमा समस्या छ। तर अहिलेको बेला संक्रमणकाल हो। अहिले झगडा गर्ने बेला होइन। अहिलेको बेला गठबन्धन टिकाउनु हो।’

प्रधानमन्त्री देउवाले आफूलाई प्रधानमन्त्री बनाउनका लागि मात्रै गठबन्धन नबनेको स्पष्ट पारे । देशमा स्थायी शान्ति, दह्रो लोकतन्त्र र संविधानको रक्षाका लागि गठबन्धन बनेको भन्दै उनले यसको अपरिहार्यता भोलि पनि रहने उल्लेख गरे।

‘यो गठबन्धन आवश्यकताले बनेको गठबन्धन हो । रहरले होइन । शेरबहादुरलाई प्रधानमन्त्री बनाउनलाई गठबन्धन भएको होइन। अहिलेको आवश्यकताले बनेको हो । यो गठबन्धन अपरिहार्य थियो, छ र भोलि पनि रहनेछ।’ देउवाले भने, ‘देशमा स्थायी शान्ति, कसैले खोस्न नसक्ने लोकतन्त्र, समावेशिता, कसैले हटाउन नसक्ने संविधान त्यसको रक्षा गरेर हामीले अगाडी बढेको खण्डमा हाम्रो देश सच्चा मानेमा अगाडी बढ्न सक्छ भन्ने लाग्छ मलाई ।’ चुनावमा कुनैपनि दलको बहुमत नआउने भएकाले आपसमा मिल्नुपर्ने बाध्यता भएको उनको भनाई छ ।थाहा


तपाईको प्रतिक्रिया