
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूलाई अहिले पनि प्रधानमन्त्रीको अफर रहेको दाबी गरेका छन् । उनले कहाँबाट त्यस्तो अफर आएको भने खुलाएनन् ।
निर्वाचन क्षेत्र चितवन पुगेका प्रचण्डले प्रेस सेन्टरद्वारा आयोजित दसैँको शुभकामना कार्यक्रममा राजनीतिक स्थिरता लोकतन्त्र सुदृढीकरण र आर्थिक समृद्धि आफ्नो प्रतिबद्धता भएको बताए ।
‘चाहेको भए ७४ को चुनावपछि ५ वर्ष प्रधानमन्त्री हुने अफर थियो, अहिले पनि छ । म प्रधानमन्त्रीको रेसमा छैन । राजनीतिक स्थिरता लोकतन्त्र सुदृढीकरण आर्थिक समृद्धि मेरो प्रतिबद्धता हो फैसला तपाईँहरूको हातमा छ । शान्ति प्रक्रियामा गिरिजासँग सम्झौता गर्दै गर्दा मैले जनताको फैसला मान्छु भनेर गरेको हुँ ’ प्रचण्डले भने ।
अबको दशक आर्थिक क्रान्तिको दशक भएको भन्दै प्रचण्डले जीवनको उत्तराद्र्धमा अब त्यसमा लाग्ने बताए । चितवनलाई विकासको मोडलको रूपमा विकास गर्न चाहेको भन्दै उनले ‘कसले के भन्छ भन्दा पनि कसले के गर्छ भन्नेले निर्णय गर्ने बताए ।
संविधान उल्ट्याउन, गणतन्त्र कमजोर पार्न र नेतालाई बदनाम गर्न एकथरी लागेका भन्दै प्रचण्डले त्यसका लागि सामाजिक सञ्जाललाई माध्यम बनाइएको बताए ।


दर्शन खबर । १० आश्विन २०७९, सोमबार