
काठमाडौँ । यस वर्षको विजया दशमीको उत्तम साइत बिहान ११ बजेर ५१ मिनेटमा रहेको नेपाल पञ्चांग निर्णायक विकास समितिले जनाएको छ । असोज १९ गते बुधबारका दिन
बिहान १०ः३४ बजे देवी विसर्जन गरी ११ः५१ बजेको साइत टिका लगाउनका लागि उत्तम रहेको समितिले जनाएको छ । साथै, पूर्वी मोहडा गरेर टीका लगाउनुपर्ने पनि समितिले जनाएको छ ।
समितिका कार्यकारी निर्देशक सुर्यप्रसाद ढुंगेलका अनुसार घटस्थापनाका लागि बिहान १०ः२३ बजेको साइत शुभ रहेको छ । असोज ११ गते झन्डा फेर्ने साइत ११ः११ बजे उत्तम रहेको उनले जानकारी दिए ।
असोज १४ गते शुक्रबार पचलीभैरव यात्रा हुने भएको छ। असोज १६ गते आइतबार फूलपाती पर्व परेको छ यसै दिन बिहान १०ः०५ बजे तुलजा भवानी यात्राको साइत जुरेको छ ।
तुलजा भवानीलाई स्थिरासनमा राख्ने साइत बिहान ११ः३५ बजेको छ । असोज १७ गते सोमबार महाअष्टमी पर्व परेको छ । राति भने कालरात्रि पर्व मनाइन्छ । असोज १८ गते मंगलबार महानवमी पर्व परेको छ । असोज १९ गते बुधबार विजयादशमी पर्व परेको छ । नेपालीको महान् पर्व बडादसैंको यो मुख्य दिन हो ।
यस दिन बिहान ७ः३५ बजे तुलजा भवानी यात्राको साइत छ । तुलजा भवानीलाई स्थिरासनमा राख्ने साइत भने ८ः४७ बजे रहेको समितिले जनाएको छ ।
असोज २२ गते शनिबार सबै बलिपूर्ति गर्नुपर्ने छ । असोज २३ गते आइतबार कोजाग्रत पूर्णिमा पर्व परेको छ। यस दिन बेलुकी घर घरमा धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरेपछि १५ दिन लामो दुर्गा पक्ष अर्थात् दसैं पर्व समापन हुन्छ ।
नेपालमा राष्ट्रिय चाडका रूपमा दसैं मनाउने गरिन्छ ।
शरद ऋतुको उल्लासमय वातावरणमा मनाइने दसैंमा विशेषगरी नवदुर्गा भवानीको विशेष पूजा, आराधना गरिन्छ ।


दर्शन खबर । १ आश्विन २०७९, शनिबार