काठमाडौँ । २०७४ सालमा भएको प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरुले पेश गरी निर्वाचन आयोगले प्रकाशन गरेको उम्मेदवारको बन्दसूची असोज १ गतेबाट खारेज हुने भएको छ । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले शुक्रबार विज्ञप्ति जारी गर्दै अघिल्लो निर्वाचनको बन्दसूची खारेज भएको जनाएका हुन् ।
‘२०७४ सालमा भएको प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनको लागि राजनीतिक दलले पेश गरी निर्वाचन आयोगले प्रकाशन गरेको उम्मेदवारको बन्दसूची मिति २०७९।०६।०१ गते राति १२ः०० बजेदेखि स्वतः कायम नरहने गरी आयोगले निणर्य गरेको छ’, विज्ञप्तिमा भनिएको छ ।
आयोगले राष्ट्रिय सभा, राष्ट्रिय सरोकार तथा समन्वय समितिको भदौ २८ को पत्र तथा भदौ २९ मा राजनीतिक दलसँगको बैठक वाट प्राप्त सुझावका आयोगले यस्तो निणर्य गरेको जनाएको हो । आयोगले गरेको यो निणर्यको जानकारी प्रतिनिधि सभा, प्रदेश सभा, संघीय संसद राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समिति र राजनितिक दलहरुलाई दिने तथा नेपाल राजपत्रमा प्रकाशन गर्ने निणर्य समेत गरेको छ । मंसिरको निर्वाचनका लागि आयोगले यसअघि नै असोज २ गतेबाट समानुपातिक तर्फको बन्द सूची पेश गर्ने कार्यतालिका सार्वजनिक गरेको छ । २०७४ को बन्दसूचीमा १८ हजार जनाको नाम सूचीकृत थियो ।


दर्शन खबर । ३१ भाद्र २०७९, शुक्रबार