कर्णालीमा १२ वटा मावि मात्रै मध्यमस्तरका भेटिए

सुर्खेत : सामुदायिक माध्यामिक विद्यालयहरुमध्ये कर्णालीमा १२ वटा मावि मात्रै मध्यमस्तरका देखिएका छन्। शैक्षिक गुणस्तर परीक्षण केन्द्रबाट विज्ञहरु खटाएर गरिएको स्थलगत अध्ययनमा कर्णालीमा १२ वटा मात्रै मध्यमस्तरका विद्यालय भेटिएका हुन्।

करिब ६ वर्ष लगाएर स्थलगत अध्ययन गरेको विज्ञहरुको टोलीले सातवटै प्रदेशका करिब ४ हजार ८ सय सामुदायिक माध्यामिक विद्यालयको परीक्षण गरेको थियो। सो अध्ययनमा कर्णालीमा कुनैपनि अब्बल विद्यालय नभेटिएको प्रतिवेदन छ।

अध्ययनमा अधिकांश माध्यमिक विद्यालय सामान्य अवस्थामा सञ्चालनमा रहेको भेटिएको छ। तीमध्ये कर्णालीमा ३ सय ३० मावि सामान्य अवस्थामा छन् भने ४ वटा मावि कमजोर अवस्थामा छन्।

कर्णालीमा ७ जिल्लाका ३ सय ४७ सामुदायिक माध्यामिक विद्यालयमा परीक्षण गरिएको थियो। परीक्षण गरिएका विद्यालयहरु मध्ये १३ मध्यम, ३ सय ३० सामान्य र ४ वटा कमजोर विद्यालय देखिएका छन्।

एक सय पूर्णांकमा ४० प्रतिशतभन्दा कम अंक ल्याउनेलाई कमजोर, ४० देखि ७० सम्म ल्याउनेलाई सामान्य, ७० देखि ९० ल्याउनेलाई मध्यम र ९० प्रतिशतभन्दा बढि अंक ल्याउने विद्यालयलाई उत्तम (अब्बल) वर्गीकरण गरिएको हो।

कर्णालीका मध्यमस्तरका १२ विद्यालय….

सामुदायिक माध्यामिक विद्यालयहरुमध्ये कर्णालीमा १२ वटा मध्यमस्तरका छन्। यी मध्ये हुम्लाको छिप्रास्थित सिता माविले ८० दशमलव ०७ अंक प्राप्त गरी पहिलो स्थानमा छ। दोस्रोमा रुकुम पश्चिमको प्रभात उच्चमाविले ७९ दशमलव ५८ अंक प्राप्त गरेको छ भने सुर्खेतको बड्डिचौरस्थित जनज्योती माविले ७७ दशमलव ५८ अंक प्राप्त गरी तेस्रो स्थानमा छ।

यस्तै, क्रमशः जन नमुना मावि वीरेन्द्रनगर सुर्खेतले ७७ दशमलव ९३ अंक, सुर्खेतको पलैटेस्थित सूर्यप्रकाश माविले ७४ दशमलव ७ अंक, सुर्खेतको घुस्रास्थित जनसेवा माविले ७३ दशमलव ०६ अंक, रुकुम पश्चिमको काँसपोखरीस्थित जनकल्याण माविले ७३ दशमलव ४ अंक र सुर्खेतको चौरासेस्थित खाँडदेवी माविले ७२ दशमलव ८६ अंक प्राप्त गरेको छ।

यसैगरी, हुम्लाको वरागाउँस्थित रुलिङ माविले ७२ दशमलव ५९ अंक , सुर्खेतको स्याउली बजारस्थित जीवन ज्योती माविले ७२ दशमलव ५, कालिकोटको कुमालगाउँस्थित रमा माविले ७१ दशमलव ३८ अंक र सुर्खेतको लेकफर्सास्थित ७० दशमलव २ अंक प्राप्त गरी १२ औं स्थानमा छ।

तपाईको प्रतिक्रिया