मुगु । जिल्लाको सदरमुकाम गमगढी बजारलगायतका ग्रामीण बस्तीहरुमा चल्दै आएका एक दर्जन भन्दा बढी रातो नम्बर प्लेटका गाडीहरुमध्ये आधा दर्जन गाडीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय र ट्राफिक प्रहरी कार्यालय मुगुले नियम विपरित यात्रुहरु ओसार–पसार गर्नुका सागै रिजर्भमा सञ्चालन गरिरहेका आधा दर्जन रातो नम्बर प्लेटका गाडीहरुलाई नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय मुगुका डीएसपी सुवास हमालले प्राइभेट नम्बर प्लेटका गाडीहरुले नियम विपरित यात्रुहरु ओसार–पसार गरिरहेकाले नियन्त्रणमा लिइएको जानकारी गराए । उनले भनेका छन्, ‘जुन प्रयोजनका लागि गाडी लिइएको हो, त्यो प्रयोजनका लागि मात्र प्रयोग गरिनुपर्छ ।’
उनले थपे, ‘प्राइभेट नम्बर प्लेटका गाडीहरुले नियम विपरित यात्रुहरु ओसार–पसार गरिरहेको पाइएकाले नियन्त्रणमा लिइएको हो । पहिलो पटक सामान्य जरिवाना गरेर छोडिएको छ । तर, पुनः नियम विपरित यात्रुहरु बोकेको पाइएमा कानून बमोजिम कारबाही गरिनेछ ।’
छाँयानाथ यातायात प्रा.लि.का महासचिव नेता प्रसाद चौलागाईले सदरमुकाम र विभिन्न ग्रामीण सडकमा चल्दै आएका रातो प्लेटका सवारी धनीहरुलाई यसबारे जानकारी गराइसकेको बताए । उनले भनेका छन्, ‘यात्रु ओसार–पसार गर्ने हो भने आगामी दशैंसम्म सबै प्राइभेट गाडीहरु कालो प्लेटमा परिवर्तन गर्न लगाउने, त्यसपछि मात्र यात्रु बोक्न लगाउने गरी पत्रचार भइसकेको छ ।’
नियमको पालना सबैले आ–आफ्नो क्षेत्रबाट गर्नुपर्ने बताउँदै प्रजिअ महतले नियम विपरित चल्ने सम्पूर्ण सवारी साधनलाई कानून बमोजिम कारवाही गरिने जानकारी गराए ।न्युज नेपाल


दर्शन खबर । १७ भाद्र २०७९, शुक्रबार