सल्यानमा अटोरिक्सा दुर्घटना हुँदा दुई महिलाको मृत्यु ५ घाइते

सुर्खेत/ सल्यानमा अटोरिक्सा दुर्घटना हुँदा दुई महिलाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार दुर्घटनामा कालिमाटी गाउँपालिका वडा नम्बर १ लक्ष्मीपुरकी ३६ वर्षीया धनीकुमारी पुन र अन्दाजी ६० वर्षीया कमलाकुमारी पुनको मृत्यु भएको हो।

जिल्ला अस्पताल पुर्‍याएलगतै उनीहरूलाई चिकित्सकले मृत घोषणा गरेका थिए। घाइते हुनेमा २१ वर्षीया अमृता बबाल र उनका चार वर्षीय छोरा कृष्ण बबाल, मृतक धनीकुमारी पुनकी ६ वर्षीया छोरी अस्मिता पुन रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक सन्तोष खनालले बताए।

अरू दुई घाइतेमध्ये चालक र अर्का एक जनाको नाम खुल्न सकेको छैन। घाइतेको जिल्ला अस्पताल खलंगामा उपचार जारी छ। कालिमाटी गाउँपालिका वडा नम्बर १ लक्ष्मीपुरदेखि टोटाबाज जाँदै गरेको रा १ ह २२१९ नम्बरको अटोरिक्सा शारदा नगरपालिका वडा नम्बर १० नयाँ बस्तीमा सोमबार साँझ साढे ५ बजेतिर दुर्घटनामा परेको हो।

क्षमताभन्दा धेरै बढी यात्रु बोकेकाले अटोरिक्सा अनियन्त्रित भएर दुर्घटनामा परेको पूर्वानुमान गरिएको खनालले बताए। घाइतेले भने उकालोमा अटोरिक्सा ब्याक भएका कारण दुर्घटनामा परेको बताएका छन्।

अटोरिक्सा सडकदेखि करिब १०० मिटर तल खसेको थियो।सेतोपाटी


तपाईको प्रतिक्रिया