मुगु/ छायानाथ रारा नगरपालिका– १४ बामगाउँमा प्रसूति गृह भवन निर्माण कार्य सुरु भएको छ । जएनआई नेपाल र कोइकाको आर्थिक तथा प्राविधिक सहयोग तथा किर्डाक नेपालको साझेदारीमा सञ्चालित मातृ शिशु स्वास्थ्य कार्यक्रमअन्तर्गत प्रसूति गृहको निर्माण कार्य सुरु गरीएको हो ।
आइतबार छायाँनाथ रारा नगरपालिका– १४ का वडाध्यक्ष, अस्पताल विकास समितिका अध्यक्ष, कोइकाका जिल्ला टिमलिडर, कोइकाकै अन्य कर्मचारी, बाम स्वास्थ चौकीका कर्मचारी, सञ्चारकर्मी, स्थानीय नागरिकको उपस्थितिमा बाम प्रसूति गृह भवनको शिलान्यास गरिएको हो ।
६६ लाख ५२ हजार लागत अनुमान गरिएको उक्त प्रसूति गृह भवन २०८० वैशाख मसान्तसम्म निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ । भवन आरसीसी फ्रेम स्ट्रक्चरमा निर्माण हुनेछ ।
७ वटा कोठा रहेको उक्त भवनमा तीन वटा शौचालय हुनेछन् । भवन निर्माणका लागि स्वास्थ्य संस्था, सञ्चालन तथा व्यवस्थापन समिति र निर्माण समिति कार्यन्वयन निकाय रहने भएका छन् ।
निर्माण पूरा भइ सेवा सुरु भएपछि उक्त वडाका बाम, खोद्का, फोइपाटा, दर्खेलबाडालगायत गाउँका ४४५ घरधुरीका गर्भवति, सुत्केरी र नवजात शिशुले स्वास्थ्य सेवा पाउने नगरपालिका १४ का वडाध्यक्ष जुन बहादुर खड्काले बताए । ‘यो प्रसूति गृह बनेपछि दुर्गम गाउँका गर्भवतिलाई बोकेर ४/५ घण्टा पैदल हिँडेर जिल्ला अस्पताल पुर्याउनुपर्ने बाध्यता हट्ने छ,’ खड्काले भने ।शिलापत्र


दर्शन खबर । १३ भाद्र २०७९, सोमबार