नेपाल र केन्याबीचको टी–ट्वान्टी क्रिकेट श्रृंखला आजबाट हुँदै

काठमाडौं । नेपाल र केन्याबीचको टी–ट्वान्टी अन्तराष्ट्रिय क्रिकेट श्रृंखला आज बिहीबारबाट सुरू हुँदैछ ।
केन्यासँग पाँच वटा टी–ट्वान्टी अन्तराष्ट्रिय तथा तीन वटा एक दिवसिय अभ्यास खेल खेल्न नेपाली टोली केन्या पुगेको हो ।
नयाँ प्रशिक्षक मनोज प्रभाकरको नेतृत्वमा नेपालको यो पहिलो खेल हुनेछ ।
नेपाल र केन्याबीचको पहिलो खेल नेपाली समय अनुसार आज दिउँसो पौने ४ बजे केन्याको राजधानी नैरोबीस्थित जिमखाना मैदानमा हुनेछ ।
यसैबीच, समयमै भिसा नआउँदा नेपालका कम्तिमा तीन खेलाडीले बिहीबारको पहिलो खेल गुमाउने भएका छन् । अलराउण्डर आदिल अन्सारी, स्पिनर बसिर अहमद र सहाब आलमले पहिलो खेल गुमाउने पक्का भएको हो ।

उनीहरु बिहीबार मात्रै केन्यातर्फ प्रस्थान गर्दैछन् । उनीहरुले श्रृंखलाको दोस्रो खेल पनि गुमाउने सम्भावना उच्च छ ।
बुधबार मात्रै उडेका अन्य दुई खेलाडी सोमपाल कामी र विवेद यादवले पनि बिहीबारको खेल खेल्ने वा नखेल्नेबारे यकिन भईसकेको छैन ।
खेलाडीहरुले समयमै ‘एल्लो फिभर’ को खोप लगाएको कागजात नबुझाउँदा भिसा आउन समय लागेको हो ।
कप्तान सन्दिप लामिछानेको नेतृत्वमा ११ खेलाडी, प्रशिक्षक मनोज प्रभाकर, फिजियो बिक्रम न्यौपाने र प्राविधिक विष्लेशक रमन शिवाकोटी गत मंगलबार केन्या उडेका थिए ।

 

तपाईको प्रतिक्रिया