
काठमाडाैँ । दुबै नेताको गृह जिल्ला झापा । विगतमा दुई पार्टी बीचको चुनावी तालमेलकै बलमा एकअर्का विजयी भएको । तर, राप्रपाको महाधिवेशनपछि खासै राम्रो सम्बन्ध नभएका एमाले अध्यक्ष केपी शर्मा ओली र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनबीच सम्बन्ध सुधारको पहल सुरु भएको छ ।
राप्रपाको एकतामा महाधिवेशनबाट कमल थापालाई हराउँदै राजेन्द्र लिङ्देन विजयी हुँदा एमाले अध्यक्ष ओलीले सकारात्मक टिप्पणी गरेनन्। ओलीले लिङ्देनलाई ‘बाच्छो’ को संज्ञा दिएपछि दुई नेताबीच सम्बन्ध राम्रो नभएको राजनीतिक वृत्तमा विश्लेषण हुँदै आएको थियो । काँग्रेसको १३ औं महाधिवेशनको उद्घाटन समारोहमा सार्वजनिक रुपमै ओलीले ‘भर्खरै दाएको बाच्छोले हिँड्न नजान्ने’ भन्दै टिप्पणी गरेका थिए ।
यतिसम्मकी दुई नेताको सम्बन्ध राम्रो नभएकै कारण गएको स्थानीय निर्वाचनमा राप्रपा–एमालेबीच औपचारिक गठबन्धन बन्न सकेन भने ओलीकै गृहनगरमा एमाले पराजित बन्यो । ओलीको गृहनगर दमकमा एमाले विरोधी गठबन्धनको बलमा राप्रपाका राम थापा विजयी भएका थिए । थापा विजयी हुँदा दमकमा एमालेको विरासत ढलेको थियो । उसो त स्थानीय निर्वाचनको सन्दर्भमा तालमेलका लागि एमाले र राप्रपाबीच अध्यक्ष तहमा छलफल र संवाद समेत हुन सकेन । नेपालगन्जमा महामन्त्री धवलशमशेर राणासँग ओलीले संवाद गरेपनि त्यसबाहेक नतिजामुखी संवाद हुन सकेन ।
तर, संघीय निर्वाचन नजिकिँदै जाँदा ओली र लिङ्देन बीच शुक्रबार भएको भेटवार्ताले दुई दलले एकअर्काको महसुश गरेको ठानिएको छ । त्यसमाथि झापामा दुबै नेतालाई तालमेलमा एकअर्काको साथ आवश्यक भएकाले पनि बालकोटमा दुई नेताबीच भएको वार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
राप्रपा प्रवक्ता मोहन श्रेष्ठले दुबै नेताको गृहजिल्ला झापा र पार्टीको नेतृत्वमा पनि रहेकाले समग्र राजनीतिक विषयमा छलफल भएको बताए । भेट निर्वाचन केन्द्रित भएको पनि उनको भनाइ छ । सहकार्यको सम्भावनाको खोजी र लामो समय समयदेखि आ–आफ्नै गतिविधि गर्दै आएको सन्दर्भमा निर्वाचन नै घोषणा भइसकेको अवस्थामा कसरी अगाढि बढ्न सकिन्छ भन्ने विषयमा छलफल सुरु भएको उनको भनाई रहेको छ ।
चुनावका लागि राप्रपाले सबैसँग संवाद अघि बढाउन चाहेको र त्यसकै सिलसिलामा ओलीसँग भेट भएको उनको भनाइ छ । अब चुनावमा एमालेसँग तालमेल गर्न खोज्नुभएको हो भन्ने प्रश्नमा श्रेष्ठले राप्रपाले सबै विकल्प खुला राख्ने बताए ।
०७४ को चुनावमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन ४४ हजार ६१४ मतका साथ झापा क्षेत्र नम्बर ३ बाट विजयी बनेका थिए । उनले एमालेकै सहयोगका काँग्रेस पूर्वमहामन्त्री कृष्ण सिटौलालाई पराजित गरेका थिए । पराजित सिटौलाले ३१ हजार १७१ मत पाएका थिए । जहाँ एमालेको समानुपातिक मत १९ हजार ८२९ थियो भने राप्रपाले चाहिँ समानुपातिकतर्फ १६ हजार १६८ पाएको थियो । यसरी हेर्दा एमालेका करिब १९ हजार मतदाताले लिङ्देनलाई मतदान गरेका थिए ।
यसैगरी झापा क्षेत्र नम्बर ५ बाट ओलीले चुनाव जितेका थिए । त्यतिबेला ओलीले ५७ हजार १३९ मत पाएपनि त्यसमा राप्रपाको उल्लेख्य मत जोडिएको थियो । झापा ५ मा राप्रपाको समानुपातिकतर्फको मत ९ हजार ५९ थियो । यसरी हेर्दा राप्रपाका करिब ९ हजार कार्यकर्ताले केपी ओलीलाई मतदान गरेका थिए । रातोपाटी


दर्शन खबर । २९ श्रावण २०७९, आईतवार