मालपोत कार्यालय जुम्लाद्वारा दुई करोड राजस्व संकलन

जुम्ला / मालपोत कार्यालय जुम्लाले आार्थिक वर्ष २०७८/७९ मा मात्र रु दुई करोड नौ लाख ५७ हजार राजस्व संकलन गरेको छ । सोही आर्थिक वर्ष कार्यालयले विभिन्न शीर्षकमा उक्त राजस्व संकलन गरेको कार्यालय प्रमुख नरेन्द्रबहादुर रोकायाले जानकारी दिए ।

त्यसमध्ये आर्थिक वर्ष २०७८र७९ मा मालपोत कार्यालयले तीन सय ७२ महिलाका नाममा जग्गा नामसारीसमेत गरेको छ । पछिल्लो समयमा ग्रामीण भेगका महिलाको नाममा जग्गा पास गर्नेको सङ्ख्या बढेको छ । एक सय ८८ महिला ग्रामीण क्षेत्रका र सहरी क्षेत्रका एक सय ८४ महिला रहेका छन् ।

कार्यालय प्रमुख रोकायाका अनुसार ग्रामीण र सहरी क्षेत्रका महिलाका नाममा जग्गा पास गरेकामा रु २४ लाख ६४ हजार नौ सय ३४ राजस्व छुट भएको छ ।

यस्तै आर्थिक वर्ष २०७८/७९ मा ग्रामीण क्षेत्र र शहरी क्षेत्रका गरी ७८ दलितका नाममा लिखत पास भएको छ । त्यसमा ग्रामीण क्षेत्रका ५६ र सहरी क्षेत्रका २२ गरी जम्मा ७८ जनाको लिखत पास गर्दा रु एक लाख ८७ हजार तीन सय ५२ रकम राजस्व छुट भएको कार्यालय प्रमुख रोकायाले बताए ।

यस्तै गत आर्थिक वर्षमा एक अपाङ्गता भएका व्यक्तिका नाममा लिखत पास भएको छ । आर्थिक वर्ष २०७८/७९ मा मालपोत कार्यालयबाट ग्रामीण क्षेत्रका महिला र पुरुष गरी सात सय ५० तथा सहरी क्षेत्रका छ सय ४० गरी जम्मा एक हजार तीन सय ९० जनाको लिखत पास भएको कार्यालयले जनाएको छ ।

मालपोत कार्यालयबाट संकलन भएको जम्मा राजस्वमध्ये ४० प्रतिशत प्रदेश सरकार र ६० प्रतिशत सम्बन्धित स्थानीय निकायामा जाने गरेको छ ।नेपालबहस


तपाईको प्रतिक्रिया