इज्जत जोगाऊँ, नाक बचाऊँ !

ईश्वर अधिकारी

एक सातायता केही शब्द अत्यधिक प्रयोगमा आएका छन् । सबैभन्दा धेरै प्रयोगमा आएका शब्द हुन्– नाक, मेयर, अभियन्ता, प्रहरी र पत्रकार । पंक्तिकारले यतिबेला यीमध्ये नाकबारे छलफल गर्नु मनासिब ठानेको छ । किनभने, नाक सबैको छ, यसलाई जोगाउनु पनि परेको छ ।
इज्जतको विम्बका रूपमा हेरिँदै र प्रयोग गरिँदै आएको नाकका दिन फेरि एकपटक फर्किएका छन् । नाकको प्रयोग शीर्षस्थानमा छ । महत्व चुलिँदो छ । भाउ छोइखानु छैन ।
नाक अब शरीरको अंगमात्रै रहेन । ऊ फेसबुकमा गयो । ट्विटरमा छायो । समाचारमा आयो । सम्पादकीय बन्यो ।

आजका दिनमा नाक कहाँ छैन ? चिया–चौतारोमा छ । गाउँ–नगरमा छ । सिंहदरबार पुगेको छ । बालुवाटार र धुम्बाराही तरंगित बनाएको छ । हुँदाहुँदा यो संसद् भवन पसेको छ र प्रतिपक्षलाई इज्जत जोगाउने बाटो बनिदिएको छ ।
नाकले बहसको सीमामात्रै होइन, देशककै सीमापार गरेको छ । यसको चर्चा अस्ट्रेलिया, युरोप र खाडी मुलुकसम्म फैलिएको छ ।
यसको महिमा र महत्व यतिसम्म भएपछि के नाकलाई कम आँक्न मिल्छ ? नाकलाई जाबो नाथे भनेर नजरअन्दाज गर्न सुहाउँछ ?
नाकको भाउ उतिसाह्रो नहुँदो हो त के रवि दाजु र इटहरीका मेयरको निशानामा पर्दो हो ? सुरुङमार्ग बनाउनभन्दा बढी बजेट नाक भत्काउन छुट्याइँदो हो ? र, नाक भत्काउन टुँडिखेल नै किन रोजिँदो हो ?

हेर्नुस् नाक भनेको नाकै हो । यो आँखाभन्दा मुनि र मुखभन्दा माथि रहेको सिँगान फाल्ने अंगमात्रै होइन, यसको काम गन्ध सुँघ्ने, चश्मा अड्याउने र गहना सजाउने मात्रै कदापि हुनै सक्दैन । यसको सीधा ‘कनेक्सन’ अझ भनौं ‘मेनलाइन’ इज्जतसँग जोडिएको छ ।

अब भन्नुस्, इज्जतको मूल्य कसैले तोक्न सक्ला ? तोकिहाले पनि यसको मूल्य करोडमा नभएर के पैसामा होला ?  नाक नाथेमात्रै भत्काउने हो र ? कुरा इज्जतको पो त ।
भाँच्नकै लागि त मानिसको शरीरमा अरु पनि अंग छन् । तर, आवेगमा आएको मान्छेले नाकै किन ताक्दो हो ? नाककै डाँडी भाँच्नुपर्ने चाहिँ किन ? कारण प्रष्टै छ, नाक भन्नु नै इज्जत, इज्जत भन्नु नै नाक । कुरा सीधा छ, नाक गए इज्जत पनि सँगै गइदिन्छ ।
परीक्षामा फेल हुँदा, तोकिएको काम गर्न नसक्दा, भनेको मितिमा ऋणसापट तिर्न नसक्दा, खासगरी पेशागत मर्यादा कायम गर्न नसके जाने भनेको नाक नै हो । अनि यसको भाउ चर्को भयो भनेर हुन्छ ?
सामान्यतया बजारशास्त्रका अनुसार यसलाई कालोबजारी मान्न सकिएला । तर, समाजशास्त्रले नाकको मूल्य करोडौं हुनुमा आपत्ति मान्दैन । किनकि, यसको मूल्यमा गिरावट आउनु भनेकै इज्जतमाथि खेलवाड हो ।
कुरा यही हो, इज्जत फाले नाक जान्छ । इज्जत राखे नाक रहिरहन्छ ।
नाक अमूल्य छ । उसो भए यति मूल्यवान नाक अरुलाई भत्काउन किन दिने ? नाक इज्जतमात्रै होइन, यो हाम्रो पहिचान हो । गौरव हो । नाकसँग व्यक्तिमात्रै होइन, सिंगो राष्ट्र जोडिन्छ । इज्जत स्थानीय, क्षेत्रीय र राष्ट्रियमात्रै हुँदैन । अन्तर्रा्ष्ट्रिय पनि हुन्छ । हामीले भन्ने गरेको अन्तर्रा्ष्ट्रिय बेइज्जत त्यसैको उदाहरण हो ।
भाँच्न र भत्काउन सक्छु भन्दैमा अरुको मात्रै नाक नदेखौं, आफू पनि सुध्रिऊँ । आफ्नो नाक पनि आफ्नै आँखाले हेर्ने कोसिस गरौं । आफ्नो नाकको मूल्य आफैंले तोकौं । अरूले मोलमोलाई गर्ने वातावरण नबनाऊँ । हाम्रो नाकको सुरक्षा हामीले नगरे कसले गरिदिन्छ ? यसको संरक्षण गरौं ।
नाक एकचोटि गयो भने यसको पुनःस्थापना सहजै सम्भव छैन । नाक त जोडिएला तर यसको लम्बाइ बढ्नेछैन । नाकसँग जोडिएको इज्जत फर्किनेछैन । अनि नाक सिँगान फाल्ने अंगका रुपमा मात्रै सीमित हुनेछ । त्यसैले, इज्जत जोगाऊँ, नाक बचाऊँ ।

(लेखक सुर्खेतका क्रियाशील पत्रकार हुन्)

तपाईको प्रतिक्रिया