
काठमाडौं । पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय छानबिन विशेष समितिले अर्थ मन्त्रालयमा रहेको सीसी टीभीसँग सम्बन्धित इन्जिनियरसँग सोधपुछ गरेको छ ।
आइतबार सिंहदरबारमा बसेको समितिको बैठकले अर्थ मन्त्रालयका प्रशासन महाशाखा प्रमुख, सीसी टीभीसँग सम्बन्धित काम गर्ने आइटी इन्जिनियर र बजेट महाशाखा प्रमुखसँग पनि सोधपुछ गरेको समितिका सचिव सुरेन्द्र अर्यालले बताए ।
आइतबार नै अर्थ मन्त्रालयका राजस्व सचिवसँग पनि समितिले सोधपुछ गरेको छ । शनिबार समितिले मूल गेटदेखि सीसी टीभीका गतिविधिहरुमा अध्ययन गरेको थियो ।
समितिको छैटौं बैठक बसेको छ । पूर्व अर्थमन्त्रीका विषयमा आवश्यक कागज तथा प्रमाण अर्थ मन्त्रालयसँग माग गरे प्रश्चात अर्थ मन्त्रालयका उच्च तह तथा अन्य विभिन्न तहका पदाधिकारीहरुसँग सोधपुछ र जानकारी लिने काम निरन्तर चलिरहेको समितिले जनाएको छ ।
शनिबार पनि भन्सार विभाग र आन्तरिक राजस्व विभागका महानिर्देशहरु र अर्थ मन्त्रालयमा राजस्व व्यवस्थापन महाशाखाका प्रमुख र उपसचिवहरुसँग समितिले सोधपुछ गरेको थियो ।
तत्कालीन अर्थमन्त्री शर्माले २०७९/०८० को बजेट बनाउने क्रममा अनाधिकृत व्यक्तिलाई रातको समयमा अर्थमन्त्रालय प्रवेश गराएर करको दर हेरफेर गरेको आरोप लागेसँगै ११ सदस्यीय संसदीय विशेष छानबिन समिति बनेको थियो । पूर्व अर्थमन्त्री शर्माले संसदीय छानबिन समिति बनेसँगै अर्थमन्त्रीबाट राजीनामा दिएका थिए ।


दर्शन खबर । १ श्रावण २०७९, आईतवार