भेरीगंगाका कृषकहरुलाई च्यापकटर वितरण 

बिनोद घिमिरे सुर्खेत / सुर्खेतको भेरीगंगा नगरपालिका पशुपंक्षी विकाश शाखाले कृषकहरु लाई अनुदानमा कृषि उपकरण वितरण गरेको छ । शाखाको कार्यालय परिसरमा आज (विहिबार) नगरका कृषकहरुलाई च्यापकटर वितरण गरिएको हो । नगरप्रमुख यज्ञ प्रसाद ढकालले कृषकहरुलाई उपकरण हस्तान्तरण गर्नुभएको हो ।

५० प्रतिशत अनुदानमा नगरभित्रका ७० कृषकहरूलाई च्यापकटर (चारा मेसिन) वितरण गरिएको पशुपंक्षी विकास शाखा प्रमुख भोज प्रसाद चपाईले जानकारी दिनुभयो । उपप्रमुख स्वरोजगार कार्यक्रमबाट ३० र पशुपंक्षी विकास शाखाबाट ४० वटा गरी कुल ७० वटा औजार वितरण गरिएको हो ।

भेरीगंगा नगरपालिकालाई कृषिमा आत्मनिर्भर बनाउनको लागि नगरपालिकाले सक्दो प्रयास गरिरहेको नगर प्रमुख यज्ञ प्रसाद ढकालको भनाइ छ । ढकालले नगरका कृषकहरुको दैनिक काम गर्ने शैलीमा छिटो र सहज होस भन्ने उद्देश्यले साना व्यवसायहरुका लागि उक्त च्यापकटर प्रदान गरिएको बताउनुभयो ।

पशुपंक्षी शाखा प्रमुख चपाईले औजारले कृषकको समय बचत तथा सहज हुने अपेक्षा गरेको बताउँदै उपकरणको सही सदुपयोग गर्न कृषकहरूलाई आग्रह गर्नुभयो । १८ हजार पर्ने प्रति मेसिनलाई शाखाले ९ हजार अनुदान दिएको छ भने बाँकी ९ हजार कृषकले नै दिएका छन ।
कार्यक्रममा भेरीगंगा नगरपालिका नगर प्रमुख यज्ञ प्रसाद ढकाल,प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद पोख्रेल,उद्योग विकास शाखा प्रमुख पिताम्बर पौडेल लगायत ७० जना कृषकहरुको सहभागीता रहेको थियो ।


तपाईको प्रतिक्रिया