सुर्खेत / लोकदोहोरी गायिका दिलमाया सुनारको मृत्यु प्रकरण अस्पष्ट बनेको छ । सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक गरिएको भनिएको ‘सुसाइट नोट’भन्दा घटना प्रकृति फरक देखिएपछि प्रहरीले गायिका सुनारको मृत्यु प्रकरणबारे अनुसन्धान थालेको छ ।
गायिका सुनार काठमाण्डौको बाँनियाटारमा रहेको आफ्नै कोठामा हिजो हिजो मृत भेटिएको प्रहरीले जनाएको छ । अस्ति राति गायिका सुनारको फेसबुकबाट आफूलाई बाँच्न गाह्रो भएको र जतिबेला जे पनि हुनसक्छ भनेर स्टाटस सार्वजनिक भएको थियो ।
त्यस स्टाटसमा आफूले नै यो कदम चालेको र कसैलाई दोष नदिन अनुरोधसमेत गरिएको छ, तर स्टाटसभन्दा घटना प्रकृति निकै फरक रहेको र आत्महत्या जस्तो नदेखिएको अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतको भनाइ छ ।
जिल्ला प्रहरी परिसर काठमाण्डौका प्रवक्ता एवम प्रहरी उपरीक्षक दिनेशराज मैनालीको भनाइले पनि यो विषयलाई पुष्टि हुने देखिन्छ । उहाँले घटना रहस्यमय रहेकाले थप अनुसन्धान अघि बढाइएको जानकारी दिनुभयो ।
गायिका सुनारको शवलाई अहिले परीक्षणका लागि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ । मैनालीका अनुसार घटनामा संलग्न रहेको आशङ्कामा एक जना पक्राउ परे पनि नाम खुलाइएको छैन । प्रहरी स्रोतले गायिका सुनारको हत्या आशङ्का गरेको छ । त्यसैले अहिले घटनामा काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले समेत अनुसन्धान थालेको छ ।
सुर्खेत घर भएकी गायिका सुनारका एक छोरा रहेका जनाइएको छ । पतिसँग डिभोर्स गरेर एक्लै बस्दै आएको खुलेको छ । गायिका सुनारसँग एक जनाको सम्बन्ध रहेको र उसैले हत्या गरेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । हिजो बिहान काठमाण्डौको नेपालटारमा रहेको उहाँको कोठामा ती व्यक्ति पुगेको पाइएको र त्यही आधारमा उहालाई पक्राउ गरिएको जनाइएको छ ।
गायिका सुनारको मृत्युको विषयमा निष्पक्ष छानविनका लागि लोकदोहोरी कलाकारले प्रहरीमा दबाब दिन थालेका छन । उनीहरूले प्रहरी वृत्त बालाजु पुगेर घटनाको छानबिन गरी दोषीमाथि कारबाहीको माग गरेका छन् । राष्ट्रिय लोकदोहोरी प्रतिष्ठानका अध्यक्ष रमेश बिजीले घटना कर्तव्य गरेर मारिएको जस्तो देखिएकाले आफू छानबिनको मागसहित प्रहरी कार्यालयमा आएको जानकारी दिनुभयो । अध्यक्ष बिजीले आफन्त आइसकेपछि जाहेरी दिने तयारी गरिएको पनि बताउनुभयो ।
प्रहरी स्रोतका अनुसार घटनास्थलमा गायिका सुनारको मोबाइलसमेत भेटिएको छैन । घाँटीमा डोब देखिए पनि घटनास्थलभन्दा बाहिर सल फेला परेकाले पनि घटना थप शङ्कास्पद बनाउन बल र्पुयाएको छ ।
सुनार लाइभ तथा अनलाइन दोहोरीमा सक्रिय गायिका हुनुहुन्थ्यो । राष्ट्रिय लोकदोहोरी प्रतिष्ठानले केही समयअघि काठमाण्डौमा आयोजना गरेको छैटौँ खुला राष्ट्रिय रनिङशिल्ड लोकदोहोरी गीत प्रतियोगितामा सुनार उत्कृष्ट गायिका घोषित हुनुभएको थियो । गायिका सुनार राष्ट्रिय लोकदोहोरी प्रतिष्ठान सुर्खेतको सदस्य हुनुहुन्थ्यो । उज्यालो


दर्शन खबर । १२ असार २०७९, आईतवार