सुर्खेत / सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएसँगै यातायात व्यवस्था विभागले पनि गाडी भाडा घटाउने तयारी गरेको छ।
सरकारको निर्देशनमा गएरातिदेखि लागू हुने गरी नेपाल आयल निगमले पेट्रोलको मूल्य २० र डिजेल तथा मट्टितेलको मूल्य २९ रुपैयाँले घटाएको छ। त्यसकै आधारमा यातायात व्यवस्था विभागले पनि गाडी भाडा समायोजन गर्ने विभागका महानिर्देशक नमराज घिमिरेले बताए।
यसअघि पेट्रोलियम पदार्थको मूल्य वृद्धि हुँदा विभागले सार्वजनिक यातायातका साधनको भाडा बढाएको थियो। विभागले पेट्रोलियम पदार्थको मूल्य घटबढ हुँदा त्यहि अनुसार गाडी भाडा पनि समायोजन गर्दै आएको छ।
विभागले अन्तर प्रदेशमा चल्ने सवारी साधनको भाडा घटाउने तयारी गरेको हो। काठमाडौं उपत्यकाको गाडी भाडा भने प्रदेश यातायात कार्यालयले समायोजन गर्ने व्यवस्था रहेको छ।
सरकारले पेट्रोलियम पदार्थमा लगाउँदै आएको कर कटौती गरेको छ। जसअनुसार, आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको हो।
अहिले पेट्रोल प्रतिलिटर १७९ र डिजेल तथा मट्टितेल प्रतिलिटर १६३ कायम गरिएको छ। यसअघि पेट्रोल १९९ र डिजेल तथा मेट्टितेल एक १९२ रुपैयाँ रहेको थियो।


दर्शन खबर । १२ असार २०७९, आईतवार