सल्यानमा वन क्षेत्र अतिक्रमण गरी बनाइएका घर टहरा हटाइयो

सुर्खेत / सल्यानमा वन क्षेत्र अतिक्रमण गरी बनाइएका घर टहरा हटाइएको छ। डिभिजन वन कार्यालय सल्यानले कपुरकोट गाउँपालिका –३ को बजार क्षेत्रमा १० वर्ष देखि वन क्षेत्र अतिक्रमण गरी बनाएका ९ वटा घर टहराहरू हटाएको हो।

काफलनेटी सामुदायिक वन क्षेत्र भित्र अतिक्रमण गरी निर्माण गरिएका घर टहरालाई सशस्त्र वन रक्षकको टोली परिचालन गरी हटाइएको डिभिजन वन कार्यालय सल्यानले जनाएको छ।

कार्यालयबाट पटक पटक जग्गा खाली गर्नको लागि सूचना टाँस गरे पनि स्थानीयले अटेर गरेपछि बाध्य भएर सुरक्षाकर्मीको सहयोग लिएर टहरा भत्काएको डिभिजन वन कार्यालय सल्यानका प्रमुख रमेश कुमार गिरीले बताए।

पटक पटक सूचना निकाले पनि बेवास्ता गरेपछि वन संरक्षणका लागि प्रहरी, प्रशासन र कपुरकोट गाउँपालिकाको सहकार्यमा सामुदायिक वनमा अतिक्रमण गरी बनाइएका टहरा भत्काइएको गिरीको भनाई छ।

राप्ती राजमार्गको छेवैमा रहेको र हाल काफलनेटी सामुदायिक वनको स्वामित्वमा रहेको सामुदायिक वनको जग्गा मासिने खतरा बढेकाले सुरक्षाकर्मी तथा डोजर प्रयोग गरेर टहरा भत्काएको उनले बताए।

वि।सं २०७० साल अघि विद्यालयले उक्त जग्गा खारेर टहरा बनाई ३ वर्ष विद्यालय सञ्चालन गरेको थियो। विद्यालय नयाँ भवनमा सरेपछि केही आर्थिक सङ्कलन हुने नाममा मासिक १० हजार भाडामा विद्यालयले जागेश्वर गिरीलाई होटेल व्यवसाय गर्न अनुमति दिएको थियो।

गिरीले होटेलसँगै बाँकी अन्य टहरा निर्माण गरी अरूलाई भाडामा लगाएका थिए।

विद्यालयले भाडामा दिएपछि २०७० देखि होटेल व्यवसाय गर्दै आएको जागेश्वर गिरीले बताए। कालिका मा। वि। कपुरकोटका विद्यालय व्यवस्थापन समिति अध्यक्ष मीनबहादुर सेनले सामुदायिक वनको जग्गा संरक्षणका लागि स्थानीयले बैठक बसेर विद्यालयलाई जिम्मा दिएको र अरू कसैले अतिक्रमण गरी दुरुपयोग नगरोस् भनी जागेश्वर गिरीलाई भाडामा दिएको बताए।

जिल्लाका अन्य क्षेत्रमा पनि क्रमैसँग कानुन अनुसार वन क्षेत्रमा अतिक्रमण गरी बनाइएका घरहरू हटाउँदै जाने समेत डिभिजन वन प्रमुख गिरीले जानकारी दिए।


तपाईको प्रतिक्रिया