
सप्तरी । सप्तरीमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा ५५ वर्षीया एक महिलाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधव काफ्लेले जानकारी दिए ।
उनका अनुसार बिहीबार बिहान पौने ११ बजे विराटनगरबाट कटारी जाँदै गरेको ना ५ ख १८९८ नम्बरको बस कोशी ब्यारेज र कंकालिनी मन्दिरको बीचमा पल्टिएर दुर्घटना भएको हो। बस अनियन्त्रित भई सडकबाट २० फिट तल खसेर दुर्घटना भएको प्रहरी नायब उपरीक्षक काफ्लेले जानकारी दिए।
उनका अनुसार दुर्घटनापश्चात् गाडीमा सवार घाइते ७ यात्रुलाई उपचारको लागि भारदह अस्पताल र ४ जनालाई स्थानीय मेडिकल कलेजमा लगिएको छ।
प्रहरीले चार जनाको अवस्था गम्भीर रहेको र ७ जनाको अवस्था सामान्य रहेको जनाएको छ। प्रहरी नायब उपरीक्षक काफ्लेले उपचारको लागि पठाइएको बस चालक फरार रहेको बताए। प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।


दर्शन खबर । ९ असार २०७९, बिहीबार