सुर्खेतमा जल तथा मौसम कार्यालयको जीप दुर्घटना, घाईते र मृतकको पहिचान खुल्यो

सुर्खेत  / सुर्खेत दैलेख सडक खण्डको कपासे नजिकै बोलेरो जीप दुर्घटना भएको छ । वीरेन्द्रनगर नगरपालिका १४ रातानाङ्गलामा रहेको मौसमी राडरको मर्मत सकेर वीरेन्द्रनगरतर्फ फर्किदै गरेको जल तथा मौसम विज्ञान कार्यालय कोहलपुर बाँकेको गाडी कपासे नजिकै अन्दाजी ४ बजे दुर्घटनामा परेको हो ।

बा १ झ ८७८४ नम्बरको बोलेरो जीपमा सडकबाट करिव २० मिटर तल खसेको सशस्त्र प्रहरी बल रक्तकाली गण बाँगेशीमलका एसपी बिमल डाँगीले जानकारी दिए । उनका अनुसार दुर्घटनामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रुकुमपश्चिम चौरजहारी नगरपालिका २ का २८ वर्षीय धर्मराज बुढाथोकीको मृत्यु भएको पुष्टी जल तथा मौसम विज्ञान कार्यालय कोहलपुरका प्रमुख विनोद पराजुलीले गरेका छन् । बुढाथोकी जल तथा मौसम विज्ञान कार्यालय कोहलपुरमा इन्जिनयर थिए ।

उनकाअनुसार दुर्घटनामा टिकापुर नगरपालिका २ कैलालीकी २७ वर्षीय इन्जिनियर जल विज्ञान सहायक सरस्वती विष्ट, कोहलपुर नगरपालिका २ बाँके घर भएका सवारी चालक कोहलपुरका बाबुराम गुरुङ्ग, तुर्माखाँद गाउँपालिका २ अछामका २७ वर्षीय तुलसीकुमारी कुमारी रावत विसी र उनका तीन वर्षीय छोरी दिदसा बुढा घाइते छन् । उनीहरुको अवस्था सामान्य रहेको पराजुलीले बताए ।

घाइतेको कर्णाली प्रदेश अस्पताल कालागाउँमा उपचार भइरहेको प्रहरीले जनाएको छ । पाँच दिन अघि खोलामा राखिएको बाढीको मापन गर्न फिल्डमा निस्किएको र रातानाङ्गालामा रहेको मौसमी राडरको पनि अनुगमन गरेर फर्कदै गर्दा दु: खद घटना भएको पराजुलीले बताए । ओभर स्पीडका कारण जीप दुर्घटना भएको प्रहरीको प्रारम्भीक अनुसन्धानले देखाए पनि यसबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।


तपाईको प्रतिक्रिया