सल्यानमा बैंकिङ कसुरमा फरार प्रतिवादी फैसला गरेको ७ महिनापछि पक्राउ

सुर्खेत — बैंकिङ कसुरमा फरार प्रतिवादी शारदा नगरपालिका १ श्रीनगरकी ३० वर्षीया सुशीला शाहीलाई अदालतले फैसला गरेको ७ महिनापछि प्रहरीले पक्राउ गरेको छ । खोजतलास गर्दै जाँदा घरमै लुकिछिपी बसेको अवस्थामा उनलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउमा परेकी शाहीलाई जिल्ला अदालतमा पेस गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी सन्तोष खनालले बताए ।

जिल्ला अदालत सल्यानले पक्राउ परेकी शाहीलाई कारागार चलान गरिसकेको उनले जानकारी गराए । उनका अनुसार फैसला कार्यान्वयनको सिलसिलामा उच्च अदालत तुलसीपुर र नेपालगन्ज ईजलासले २०७८ कात्तिक १७ गते जिल्ला अदालत सल्यानको लगत नम्बर १२७१ अनुसार बैंकिङ कसुरमा ३ लाख ९३ हजार १०२ जरिवाना र ५ दिन कैद सजाय तोकेको थियो ।

कैद सजाय भुक्तान गरे पनि जरिवाना समयमै तिर्न नसके उनले थप कैद भुक्तान गर्नु पर्ने उनको भनाइ छ ।


तपाईको प्रतिक्रिया