सुर्खेत – नेपालगञ्जस्थित धम्बोजीचोकमा रहेको होटल सिटी प्यालेसभित्र सञ्चालित सिटी इ गेमिङ क्लब क्यासिनोबाट सात नेपाली पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा मनोज विक, विपिनसिंह बडुवाल, गणेश शर्मा, सुलभ कार्की, विक्रम क्षेत्री, आकाश सिंह र मोहित शाह छन् ।
उक्त क्यासिनोबाट उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले जानकारी दिए । उनीहरुले क्यासिनोभित्र प्रवेश गरी धम्क्याउने गरेको उजुरी आएकाले उनीहरूलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक न्यौपानेले बताए ।
पक्राउ परेकालाई कानुनी कारबाही गर्ने वा के गर्ने भन्ने विषयमा छलफल चलिरहेको जनाइएको छ ।
क्यासिनोमा विदेशी बाहेक नेपालीलाई प्रवेश निषेध गरिएको छ । तर नेपालगञ्जका क्यासिनोले खुलेआम नेपालीलाई प्रवेश दिइएको बताइएको छ ।


दर्शन खबर । २३ जेष्ठ २०७९, सोमबार