सुर्खेत । सरकारले जेठ १ गतेदेखि लागु हुने गरी इन्धन खपत कम गर्न हप्तामा दुई दिन सार्वजनिक विदा दिने निर्णय गरेसँगै जिल्ला प्रशासन कार्यालय सुर्खेतले सरकारी सवारी साधनमाथी कडाई गर्न थालेको छ ।
सार्वजनिक विदाका दिन सरकारी सवारी साधन चलाउन नपाईने सरकारको निर्णय अनुसार सुर्खेत प्रशासनले सेतो नम्बर प्लेटका सवारीमाथी कडाई गर्न थालेको हो । हिजो वीरेन्द्रनगरका विभिन्न ठाउँबाट ५ वटा सरकारी नम्बर प्लेटका सवारी साधन नियन्त्रणमा लिइएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका अनुसार नियन्त्रणमा लिईएका सवारी साधनमा ४ वटा मोटरसाइकल र १ चारपाङग्रे सवारी साधन रहेका छन । नियन्त्रणमा लिईएका सवारीलाई सम्झाई बुझाइ गरी आज बिहान छोडिएको छ ।
प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालका अनुसार गृहमन्त्रालयको परिपत्र भई आए अनुसार इन्धनको खपत कम गर्न हप्तामा दुई दिन विदा थप गर्ने र विदाको दिन सरकारी सवारी साधन सञ्चालनमा रोक लगाइएको र सरकारको निर्णय अनुसार अबदेखि कुनै पनि सेतो नम्बर प्लेट भएका सवारी साधन विदाको दिन चलाउन प्रशासनले रोक लगाएको प्रमुख जिल्ला अधिकारी रिजालले बताउनुभयो ।
प्रशासनको यो निर्णयलाई अटेर गरे जो कोहीलाई पनि कानून बमोजिम नियन्त्रणमा लिई कारवाही हुन्छ र अत्यावश्य काम परेका वा प्रशासनबाट पास लिएकाहरुले भने सवारी चलाउन पाउने प्रमुख जिल्ला अधिकारी रिजालले जानकारी दिनुभयो ।


दर्शन खबर । ९ जेष्ठ २०७९, सोमबार