शिक्षक हुँ भन्दा पनि मान्छेले पत्याउँदैनन्

सुर्खेत – केही दिनअघि सुर्खेतको भेरीगंगा नगरपालिका–३, डुंङ्गी खोलाका शेरबहादुर वली अटोरिक्सा चढेर विद्यालयबाट घर फर्किँदै थिए। अटोरिक्सामा अर्का एक जना पनि जान खोजे। सुरूमा उनले शेरबहादुरलाई अलिक कडा स्वरमा ठाउँ सर्न भने।

शेरबहादुर सरेपछि ती व्यक्ति अटोमा बसे। उनले शेरबहादुरलाई अनायासै सोधे, कहाँ गीत गाएर आयौ त भाइरुु

शेरबहादुर जन्मजात दृष्टिविहीन हुन्। प्रश्न सुनेर उनी चकित भए।

अटोमा चढेका ती अपरिचित मानिसलाई लाग्यो होला, म आँखा नदेख्ने मान्छे कतै गीत गाएर पैसा संकलन गरेर आएँ। तर म विद्यालयबाट घर फर्किँदै थिएँ, शेरबहादुरले भने, मैले त्यस्तो होइन भनेपछि उहाँले अपांगहरूको कार्यक्रम थियो कि भनेर सोध्नुभयो। मैले विद्यालयबाट आएको हुँ भनेपछि किन विद्यालय गएको भनेर पनि सोध्नुभयो।

ती व्यक्तिले शेरबहादुरलाई स्कुलका विद्यार्थी सोचे। शेरबहादुरले स्कुलमा पढाउँछु भने।

ती व्यक्तिले फेरि सोधिहाले, तिमी जस्तैलाई पढाउँछौ र

पूर्णरूपमा दृष्टिविहीन शेरबहादुर नेपाल सरकारका स्थायी शिक्षक हुन्। उनले सहयात्रीलाई आफू स्थायी शिक्षक हुँ भनेर विश्वास दिलाउँदासम्म उनीहरू सवार अटोरिक्सा केही किलोमिटर गुडिसकेको थियो।

शेरबहादुरले ती व्यक्तिलाई आफू सबै विद्यार्थीलाई पढाउने र शिक्षक सेवा आयोगको परीक्षा उत्तीर्ण गरेर शिक्षण पेसामा प्रवेश गरेको जानकारी गराए। आफ्नो शैक्षिक योग्यता बताए।

भाइ र तिमी भनेका ती व्यक्ति सर भन्न थाले।

शेरबहादुरले सेतोपाटीसँग भने, हामी जस्ताले त शिक्षक हुँ भन्दा पनि मान्छेले पत्याउँदैनन्, पत्याइहाले पनि आफूजस्तैलाई पढाउने ठान्छन्।

शेरबहादुर २०७१ मा शिक्षक सेवा आयोगको परीक्षा उत्तीर्ण गरेर प्राथमिक शिक्षक नियुक्त भएका हुन्। उनले दस वर्षको उमेरमा पढ्न सुरू गरेका थिए। अपांगता भएकाहरूका लागि उपयुक्त हिमशिखर माध्यमिक विद्यालय, रामघाटबाट दस कक्षा पूरा गरे। एघार र बाह्र कक्षा वीरेन्द्रनगरस्थित अमरज्योति नमूना उच्च माविबाट पूरा गरे। सुर्खेतको शिक्षा क्याम्पसबाट मूल विषय नेपाली लिएर स्नातक उत्तीर्ण गरे।

शेरबहादुरले पढाइदेखि शिक्षक सेवा आयोगको परीक्षा उत्तीर्ण गर्दासम्म मेहनेत गरे। उनी दृष्टिविहीन व्यक्तिहरूका लागि प्रेरणास्रोत भएका छन्।

पाँच कक्षासम्म त धेरै जटिलता भयो। विद्यालयमा ब्रेललिपिका सामग्री र कार्डसिट अहिलेको जस्तो पर्याप्त थिएनन्, ३३ वर्षीय शेरबहादुरले भने, हामी दृष्टिविहीन भए पनि अरू सबै विद्याथीसँगै बसेर पढ्नुपर्थ्यो।

उनले छ कक्षादेखि छात्रवृत्ति पाएर पढे। कलेजको विद्यार्थी छँदा शिक्षण अनुमतिपत्र परीक्षा उत्तीर्ण गरेका थिए। २०७१ सालमा परीक्षा दिए, खुला र अपांगता आरक्षण दुवैतिर उत्तीर्ण गरे। अन्तर्वार्तामा नियुक्तिको सिफारिस चाहिँ आरक्षणतर्फबाट भयो।

शिक्षा विषय पढेकाले होला मेरा शिक्षकले पनि मलाई शिक्षक बन्न सल्लाह दिनुहुन्थ्यो। म आफू पनि शिक्षक हुन चाहन्थेँ, शेरबहादुरले भने, निकै मेहनेत गरेर शिक्षण पेसामा प्रवेश गरेँ। अहिले अपांगता भएका व्यक्तिहरूका लागि उदाहरण भएको छु जस्तो लाग्छ।

उनले शिक्षक सेवा आयोगको विज्ञापन रेडियोबाट थाहा पाएका थिए। त्यस बेला अनलाइन फारम भर्ने सुविधा थिएन। पश्चिम सुर्खेतका शेरबहादुरले पूर्वको इलाम पुगेर फारम भरे। दृष्टिविहीनका लागि बेग्लै पठ्यसामग्री नपाइने भएकाले बहिनीको सहयोग लिए। बहिनीले पढ्ने, उनले सुन्ने। काठमाडौंस्थित अपांग मानव अधिकार केन्द्र र पोखरास्थित एक पुस्तकालयबाट केही अडियो किताब पनि पाए।

अनि आयोगले तोकेअनुसार सहयोगी राखेर परीक्षा दिए। दृष्टिविहीनका लागि उपयुक्त शैक्षिक सामग्री र परीक्षा प्रणाली नहुँदा धेरैले असफलता बेहोर्नु परेको उनको ठहर छ।

शेरबहादुर फारम भर्न जाँदा कतिले आँखा नदेख्नेले कसरी पास गर्ला रु भनेको सुनेका थिए। त्यसैले उनले मेहनत गरे, आफूलाई अक्षम देख्नेलाई बेवास्ता गरे। कतिलाई अपांगता भएका व्यक्तिको भावना र क्षमताको कुरा सम्झाए।

उनले भने, त्यति टाढा गएर दुःख मात्र पाउने होस् कि भनेर बुबाआमाले चिन्ता गर्नुभएको थियो। मलाई सफल हुन्छु भन्ने विश्वास थियो। संघर्षबाट सफल भइन्छ भन्ने कुरा मैले आफैंबाट थाहा पाएँ।

आयोगबाट नियुक्ति पाएयता शेरबहादुर तेस्रो विद्यालयमा पढाउँदै छन्। इलामबाट परीक्षा उत्तीर्ण गरेका हुनाले सुरूमा उतै नियुक्ति पाए। पछि सरुवा भएर सुर्खेत आए। उनी अहिले भेरीगंगा गाउँपालिकाको नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा पढाउँछन्।

मलाई माथिल्लो कक्षामा पढाउन सजिलो हुन्छ। गणितबाहेक अरू विषय पढाउन सक्छु, शेरबहादुर भन्छन्, कक्षामा पढाउँदा विद्यार्थीलाई पढ्न लगाउँछु र म व्याख्या गरिदिन्छु, विद्यार्थी केन्द्रित अध्यापन गराउँछु।

विद्यार्थीको गृहकार्य परीक्षण गर्न विद्यार्थीकै सहयोग लिन्छन्। पहिले विद्यार्थीहरूका कापी माग्छन्। त्यसपछि एक जनाले लेखेको अर्कोलाई पढ्न लगाउँछन् र आफूले सुनेर विद्यार्थीलाई आवश्यक सुझाव दिन्छन्।

दृष्टिविहीन भएका कारणले शेरबहादुरले शिक्षण पेसामा कुनै किसिमको अपमान अनुभव गर्नु परेको छैन। भन्छन्, मैले विद्यार्थीहरूबाट आदरसम्मान र सहकर्मी शिक्षकहरूबाट राम्रो सहयोग पाएको छु।

आफू शिक्षक भएपछि अपांगता भएका व्यक्तिप्रति आफ्नो ठाउँका सार्वजनिक स्थलमा बोलिने शब्दहरू नै फेरिएको शेरबहादुरले बताए।

समाज विविधतायुक्त छ, विभिन्न प्रकारका मानिस बस्छन्। अपांगता भएका व्यक्तिलाई सबैले एउटै व्यवहार त गर्दैनन्, उनी भन्छन्, तर पहिले मलाई प्रयोग गर्ने नराम्रा शब्दहरू अहिले सुनिँदैनन्।

उनीहरू तीन दाजुभाइ छन्। सरकारी जागिरमा शेरबहादुर मात्र छन्।

पहिले मलाई मेरै जीवन बोझ देख्नेहरूले सहानुभूति दिए जसरी यसरी बाँच्नुभन्दा त मरेकै बेस भनेर गाली गरेको पत्तै पाउँदैनथेँ, उनले भने, अहिले म शिक्षक भएपछि उनीहरू नै यो मान्छेले राम्रो काम गर्‍यो है भन्छन्। पहिला हेप्ने मानिस अहिले सल्लाह लिन्छन्।

अपांगता भएकाहरू पनि मेहनतले सफल हुन्छन् भन्ने उदाहरण आफू रहेको शेरबहादुरको भनाइ छ।

अपांगता भएका व्यक्तिहरूले केही गर्न सक्दैनन् भन्ने अधिकांशको सोचाइ छ। यस्तो सोचाइ अपांगता भएका साथीहरूले गलत सावित गरिदिनुभएको छ, उनी भन्छन्, तीमध्येको म पनि एक हुँ। अनुकूल वातावरण भए अपांगता भएकाहरूले राम्रो काम गर्न सक्छन्। — सेतोपाटी

तपाईको प्रतिक्रिया