डोल्पामा जेठ ११ गतेदेखि यार्सा पाटन खुला गरिने

सुर्खेत। डोल्पा जिल्लामा यार्सागुम्बा संकलनका लागि जेठ ११ गतेदेखि सम्पूर्ण यार्सा पाटन खुला गरिने भएको छ। आज सदरमुकाम दुनैमा जिल्ला समन्वय समिति डोल्पाका प्रमुख शेरबहादुर बुढाको अध्यक्षतामा जिल्लाका विभिन्न निकायका प्रमुख प्रतिनिधिहरूको सहभागितामा बसेको बैठकले शे फोक्सुण्डो राष्ट्रिय निकुञ्ज भित्र र विभिन्न सामुदायिक वनमा रहेका यार्सा पाटनमा जेठ ११ गतेदेखि असार १० गतेसम्म यार्सागुम्बा संकलन गर्न पाउने निर्णय गरिएको छ।

बहुमूल्य जडिबुटीको रूपमा पाइने यार्सागुम्वा डोल्पा जिल्लाका बासिन्दा लगायत छिमेकी जिल्लाका स्थानीय राम्रो आम्दानी गर्ने गर्दछन्। प्रायजसो स्थानीय बासिन्दा यार्सागुम्बा संकलनबाट प्राप्त आम्दानीले बालबच्चा पढाउने र घर खर्च चलाउँछन्।

कोभिड १९ संक्रमणका कारण लामो समयसम्म सर्वसाधारणले यार्सागुम्बा संकलन गर्न नपाएको भन्दै योपटक विभिन्न तयारीका साथ करिब एक महिनाका लागि यार्सा पाटन खुला गरिने भएको हो। यार्सा संकलनका लागि मध्यवर्ती क्षेत्रका बासिन्दा, जिल्लाभित्रका बासिन्दा र जिल्ला बाहिरका बासिन्दालाई राष्ट्रिय निकुञ्ज ऐन र नियामावली अनुसार फरक फरक प्रवेश शुल्क लाग्नेछ।

यार्सागुम्बा संकलकहरूका लागि सुलिगार्ड,धो, साल्दाङ, रिग्मो, सुम्दुवा, छेप्का, त्रिपुराकोट, खालीवन, पहाडा, तोइजम र मुगु जिल्लाको डोल्फु र किम्रीबाट पुर्जी वितरण हुने शे फोक्सुण्डो राष्ट्रिय निकुञ्ज सुलीगाड डोल्पाले जनाएको छ। यस्तै डिभिजन वनको क्षेत्रमा आवश्यकता अनुसार स्थान निर्धारण गरी पुर्जी वितरण गरिने जनाएको छ।

डोल्पा जिल्लाका विभिन्न स्थानमा रहेका करिब दुई दर्जनभन्दा बढी यार्सागुम्बा पाटनहरूमा सर्वसाधारणको भीड हुने भएकाले विभिन्न किसिमका आपराधिक गतिविधि हुन सक्ने भएकाले त्यस्ता किसिमका क्रियाकलाप रोकथाम तथा नियन्त्रण गर्नका लागि श्री रामवाण गुल्मका गुल्मपतिको संयोजकत्वमा थप छलफल गरी सुरक्षाकर्मी परिचालन गरिने भएको छ।

यार्सागुम्बा संकलन अवधिमा यार्सा संकलन बाहेक अन्य गैह्रकानुनी कार्य गरेमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९, हिमाली राष्ट्रिय निकुञ्ज नियमावली २०३६, मध्यवर्ती क्षेत्र व्यवस्थापन नियमावली २०५२ अनुसार कारबाही हुने निकुञ्जले जनाएको छ।

यस्तै यार्सागुम्बा संकलन अवधिमा सर्वसाधारणका लागि विभिन्न नाकामा स्वास्थ्य सेवा कार्यालय, विभिन्न स्थानीय तहहरूसँग समन्वय निःशुल्क स्वास्थ्य शिविर राख्ने, पाटनमा हुने फोहोरमैला व्यवस्थापनका लागि यार्सागुम्बा संकलकहरूलाई नाकामा अभिमुखीकरण गर्ने जनाइएको छ।

तपाईको प्रतिक्रिया