गाउँबस्ती पुगेर मतदाता फकाउँदै उम्मेदवार

जाजरकोट । यही वैशाख ३० मा सम्पन्न हुन लागेको स्थानीय तहको निर्वाचन आउन अब आठ दिन मात्रै बाँकी रहँदा गाउँबस्ती चुनावमय बनेका छन् । उम्मेदवार आफ्ना कार्यकर्तालाई साथ लिएर विकास र समृद्धिका प्रतिबद्धतासहित बस्ती छिरेका छन् । उम्मेदवारले मतदातालाई आश्वास्त पार्न घरदैलो पुगेर अभियान चलाइरहेका छन् ।

दलका उम्मेदवार आफ्ना पार्टीका घोषणापत्र र कार्यसूची तथा आफ्ना योजना बोकेर मतदाताका घरघरमा पुगेका छन् । चुनाव जितेर गाउँबस्ती नफर्कने आरोप लाग्ने गरेका उम्मेदवारले अहिले मतदातासँगको भेटघाट एवं छलफल तीव्र पारिरहेका छन् । उनीहरु आआफ्ना पक्षमा जनमत सिर्जना गर्न ¥याली, घरदैलो, जुलुस तथा सभा गरिरहेका छन् । उम्मेदवारले यसपाली सामाजिक सञ्जालको भरपुर उपयोग गरेको पाइन्छ । गाउँबस्तीमा गीतसङ्गीतमार्फत पनि घरदैलो चलेको पाइएको छ ।

जिल्लाका तीन वटा नगरपालिका र चार वटा गाउँपालिकामा चुनावको रौनक छाएको छ । नगरपालिकाहरुमा चुनाव पेचिलो बन्दै गएको छ । यसअघि विसं २०७४ मा तीन चरणमा निर्वाचन सम्पन्न भएकाले मुलुक निर्वाचनमय बन्न सकेको थिएन तर यसपाली गाउँबस्तीमा निर्वाचनले छपक्कै छोपेको छ । उम्मेदवार मतदाता भेट्न खेतबारीसमेत धाइरहेका छन् । काम गरिरहेको स्थानमा पुगेर भेटघाट गर्ने र विभिन्न विकासका प्रतिबद्धतासहित मतदातालाई आकर्षित गरिरहेका पाइएको छ ।

सत्ता गठबन्धन दलकातर्फबाट भेरी नगरपालिकाको प्रमुख पदमा उम्मेदवारी दिएका गगनबहादुर खड्का ९ जीवन० चुनावी अभियान बोकेर मतदाताको घरघर पुगिरहेका छन् । नगर भित्रको गरिवी, अशिक्षा र भष्ट्राचार अन्त्य गर्ने उनको प्रतिबद्धता छ । सुशासन, सुन्दर सहर, भ्रष्टाचारमुक्त र सम्पदा संस्कृतिको विकासमा योगदान दिने मतदातामाझ चुनावी प्रतिबद्धता बोकिरहेका छन् ।

नेकपा ९एमाले० बाट नगरपालिकाको नगर प्रमुखको उम्मेदवारी दिएका चन्द्रप्रकाश घर्ती २०७४ सालको स्थानीय तहको निर्वाचनमा भारी मतका साथ विजयी भएका थिए । भेरी नगर समृद्धिका योजनासहित नगरका टोलटोलमा चुनावी अभियानमा सक्रिय भएको बताउँछन् । समय तालिका बनाएरै चुनावी अभियान थालेको उनी नागरिकको सेवामा समर्पित हुने उद्घोषसहित मतदाता रिजाउने प्रयासमा छन् ।

उता नलगाड नगरपालिकाको सत्ता गठबन्धन बाट प्रमुख पदका उम्मेदवार डम्बरबहादुर रावत र उप प्रमुख सरिता सिंह चुनावी घोषणापत्र नै बनाएर अभियान थालिरहेका छन् । उनीहरुले नगरपालिका भित्रको कृषि, स्वास्थ्य, शिक्षा र विकासमा आफ्नो ध्यान जाने पनि मतदातामाझ प्रतिबद्धता जनाईरहेका छन् । एमालेका तर्फबाट उम्मेदवार धर्मबहादुर शाही र सुनिता बोहरा कसले जित्ने त्यो ठूलो कुरा नभई जनताले मन लागेको उम्मेदवारलाई भोट दिन सक्ने वातावरण निर्माण गर्नुपर्ने बताए ।

उता छेडागाड शिवालय, जुनीचाँदे, बारेकोट गरी सात वटै स्थानीय तहका गाउँबस्ती तथा टोल यसैगरी चुनावमय भएका छन् । उम्मेदवार पालिकाको विकास र समृद्धका नारा बोकेर चुनावमा लागेका छन् । उम्मेदवारले स्थानीय तहको माग र आवश्यताअनुसारका आआफ्ना प्रतिबद्धतापत्र पनि सार्वजनिक गरेका छन् ।

पर्यटक विकास, सडक, ढल, बत्ती, हरियाली र स्वच्छ वातावरण, विपद् व्यवस्थापन, तटबन्ध जस्ता कार्यक्रम, सामाजिक विकास नागरिक सशक्तिकरण, सीमान्तकृत, विपन्न, गरीब तथा असहाय र पछाडि पारिएका व्यक्तिका लागि राहत तथा पुनस्स्थापनका कार्यक्रम उम्मेदवारका साझा प्रतिबद्धता पाइएका छन् ।

उनीहरुको योजनामा समृद्धि पालिका बनाउने र त्यसका लागि शिक्षा, स्वास्थ्य, सञ्चार, वातावरण संरक्षण, नदी नियन्त्रण, सडक सञ्जाल विस्तार, कृषि, उद्योग, मजदुर संरक्षण, गरिबी नियन्त्रण, बेरोजगारी समस्या समाधान, सांस्कृतिक सम्पदा संरक्षण गर्ने कुरा पनि समावेश छ ।

यसपाली सत्तापक्षीय राजनीतिक दलको एउटा गठबन्धन छ भने प्रमुख प्रतिपक्षी दल एमाले नेतृत्वको अर्को गठबन्धन बनेको छ तर सबै ठाउँमा एकै खालको गठबन्धन भने छैन । निर्वाचनका लागि जाजरकोटमा तयारी तिव्र पारिएको छ ।स्रोत हाम्रो पहुँच 


तपाईको प्रतिक्रिया