
सुर्खेत । नेकपा एमाले सुर्खेतले ९ वटै स्थानीय तहका उम्मेदवारहरुको टुङ्गो लगाउने अन्तिम तयारीमा पुगेको छ । यही बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा उम्मेदवारी दिनका सुर्खेतका नौ मध्ये केही पालिका बाहेक अधिकांश पालिकाको प्रमुख तथा उपप्रमुख, अध्यक्ष तथा उपाध्यक्षको नाम टुङ्गो लगाएको छ ।
स्थानीय पालिका कमिटि, जिल्ला कमिटिको निर्णय र सिपःारिसका आधारमा एमाले प्रदेश समन्वय कमिटिले उम्मेदवारहरुको अन्तिम टुडगो लगाएको हो ।
चौकुने गाउँपालिका अध्यक्षमा हरि प्रसाद अधिकारी र उपाध्यक्षमा निर्मला राना मगरलाई उम्मेदवार बनाउने निर्णय भएको छ । नेकपा एमाले चौकुने गाउँ कमिटीबाट सर्वसम्मत दुवै जनाको नाम सिफारिस भएको थियो । दुवै जनाको नाम जिल्ला तथा प्रदेश कमिटीबाट अनुमोदन भएको छ ।
पञ्चपुरी नगरपालिकाको प्रमुखमा धन बहादुर थापाको टुङ्गो लागेको छ भने उपप्रमुखको विषयमा छलफल जारी रहेको जनाइएको छ । त्यसैगरी बराहताल गाउँपालिकाबाट अध्यक्ष पदको उम्मेदवारमा एमाले सुर्खेत जिल्ला उपसचिव घनश्याम पाण्डे र उपाध्यक्ष पदको उम्मेदवारमा दुर्गा विष्टको नाम टुङ्गिएको छ ।
वीरेन्द्रनगर नगरपालिकाको प्रमुखमा मोहनमाया ढकाल र उपप्रमुखमा निलकण्ठ खनालको नाम टुङ्गिएको छ । एमालेको दुई दिनसम्म बसेको प्रदेश टिकट समन्वय समिति बैठकले नगरको मेयरमा मोहनमाया ढकाल र उपमेयरमा नीलकण्ठ खनाललाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।
ढकाल अहिले नगरको उपमेयर हुन् । यस्तै उपमेयरका उम्मेदवार खनाल वडा नम्बर ४ का अध्यक्ष हुन् । नेकपा एमालेको वीरेन्द्रनगर नगरप्रमुख बन्नका लागि एमाले जिल्ला कमिटी अध्यक्ष अमृत बिसी, उपाध्यक्ष कुलमणि देवकोटा, नगर कमिटी अध्यक्ष नीलकण्ठ खनाल, एमाले नेता हरिहरनाथ योगी लगायतको पनि दाबी रहेको थियो ।
चिङ्गाड गाउँपालिकाबाट अध्यक्ष पदको उम्मेदवारमा बोधविक्रम जिसी र उपाध्यक्ष पदको उम्मेदवारमा मिना रोकायको नाम टुङ्गो लागेको छ ।
लेकबेशी नगरपालिकामा प्रमुख पदको उम्मेदवारमा देव बहादुर राना र उपप्रमुख पदको उम्मेदवारमा बिमला खड्लुकको नाम टुङ्गिएको छ ।
भेरीगंगा नगरपालिकाको प्रमुख पदको उम्मेदवारमा यज्ञ प्रसाद ढकालको नाम टुङ्गिएको छ भने उपप्रमुख पदको उम्मेदवार अँझै टुङ्गो लागेको छैन । गुर्भाकोट नगरपालिकामा प्रमुखको पदमा तिलक खत्री र उपप्रमुखको पदको उम्मेदवारमा सुशिला विश्वकर्माको नाम टुङ्गो लागेको जनाइएको छ ।
सिम्ता गाउँपालिकामा अध्यक्ष पदको उम्मेदवारका लागि पालिका अध्यक्ष कविन्द्र कुमार केसी, एमाले नेता टेकेन्द्र कुमार वस्नेत र ऐन बहादुर चन्दविच सहमति हुन नसेको जनाएको छ । जिल्लाका ९ वटा पालिकाको प्रमुख, उपप्रमुख मध्ये सिम्ता गाउँपालिकाको दुवै पद र भेरीगंगा र पञ्चपुरी नगरपालिकाको उपप्रमुख पदमा उम्मेदवारको नामका बारेमा छलफल भैरहेको जनाइएको छ ।


दर्शन खबर । १० बैशाख २०७९, शनिबार