एजेन्सी । पूर्वी युक्रेनमाथि रुसले आक्रमण तीव्र पारेपछि पश्चिमा देशले थप युद्धसामग्री पठाउने भएका छन् । युक्रेनका साझेदार देशले थप अस्त्र किभमा पठाउने भएका हुन् ।
पश्चिमा देशका नेताहरुबीच भएको भिडियो वार्तामा अमेरिका र अन्य देशले गोलाबारुद, सैन्य ट्यांक र हवाई प्रतिरक्षा सामग्रीलगायतका युद्धका लागि आवश्यक सहायता सामग्री उपलब्ध गराउने वाचा गरेका बीबीसीमा उल्लेख छ ।
अमेरिकाले युक्रेनका लागि थप ८० करोड डलर बराबरको सैन्य सहायता घोषणा गर्ने योजना बनाएको छ । त्यसैगरी, जर्मन चान्सलर ओलाफ शोल्जले पनि प्रतिरक्षा सामग्री खरिदका लागि युक्रेनलाई रकम उपलब्ध गराउने वाचा गरेका छन् ।
गएको फेब्रुअरी २४ देखि युक्रेनमा आक्रमण सुरु गरेको रुसले केही दिनदेखि पूर्वी युक्रेनमा आक्रमण बढाएको छ । युक्रेनले प्रतिरक्षाका लागि सैन्य सहायता बढाउन आफ्ना साझेदार देशहरूलाई आग्रह गर्दै आएको छ । तर, रुसले युक्रेनलाई सहयोग गर्ने देशहरुले युद्धलाई थप लम्ब्याउन चाहिरहेको आरोप लगाउँदै आएको छ ।


दर्शन खबर । ७ बैशाख २०७९, बुधबार