सुर्खेतमा१५ अर्ब लगानीमा सूर्यतारा सिमेन्ट उद्योगको स्थापना हुँदै

सुर्खेत। सुर्खेतको बराहताल गाउँपालिकामा करिव १५ अर्व लगानीमा सिमेन्ट उद्योग स्थापना हुने भएको छ । दुई वर्षभित्र सिमेन्ट उत्पादन गर्ने लक्ष्यका साथ सूर्यतारा सिमेन्ट उद्योगको स्थापना हुन लागेको हो । सोमवार कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही र उद्योग सञ्चालकबीच छलफल भएको छ ।

छलफलमा बराहताल गाउँपालिका ७ स्थित लखरपाटामा खानी र चौकुनेमा उद्योग सञ्चालन गर्न लागेको सूर्यताराले आवश्यक सहजीकरण र भावी योजनाका बारेमा प्रदेश सरकारलाई जानकारी गराएको थियो । मुख्यमन्त्री जीवनबहादुर शाहीले कर्णालीमा बाह्य लगानी भित्र्याउन प्रदेश सरकारले आवश्यक सहयोग र सहजीकरण गर्ने बताए । उनले खानी र उद्योगसम्म सडक तथा पानी पुर्‍याउन प्रदेश सरकारले तत्कालै काम थाल्ने बताए ।

‘बाह्य लगानी नआउँदासम्म कर्णालीको विकास हुँदैन्,’ छलफलमा मुख्यमन्त्री शाहीले भने, ‘बाह्य लगानी भित्र्याउन प्रदेश सरकार आवश्यक सहजीकरण र समन्वय गर्न तयार छ ।’ उनले उद्योगले प्रदेशलाई गर्ने योगदानका आधारमा करलगायतका क्षेत्रमा छुटको व्यवस्था पनि गर्ने बताए । झण्डै १५ अर्ब रुपैयाँ बराबरको लगानीमा सञ्चालन हुन लागेको उद्योगले दुई वर्षभित्र सिमेन्ट उत्पादन गर्नेछ । यसका लागि उद्योगले चौकुनेमा आवश्यक जग्गा खरिद प्रक्रिया टुंग्याइ सकेको छ ।

सूर्यतारा सिमेन्ट उद्योगका अध्यक्ष मुकुन्दप्रसाद तिमिल्सेनाले उद्योगका लागि जग्गा प्राप्ती भइसकेको र पहुँचमार्ग निर्माण र संरचना निर्माणको कामको भइ रहेको बताए । उद्योग सञ्चालनका लागि लगानी बोर्डले १४ अर्ब, २७ करोड ५० लाखको लगानी स्वीकृत गरेको छ । बराहताल गाउँपालिका(७ स्थित लखरपाटामा ९५ हजार हेक्टर जमिनबाट चुनढुंगा उत्खनन् गर्नेछ भने चौकुने गाउँपालिकामा उद्योग स्थापनाका लागि ४२ विघा जमिन खरिद गरेको छ ।

उद्योगले दैनिक ५० देखि ६० हजार बोरा सिमेन्टका साथै तीन हजार टन क्लिङ्कर उत्पादन लक्ष्य राखेको छ । सिमेन्ट उत्पादनका हिसावले ठुलो सम्भावना बोकेको सुर्खेतको पश्चिम क्षेत्रमा उद्योग स्थापनाका लागि भएको यो दास्रो प्रयास हो । सडक, र विजुली नपुगेको भन्दै चौकुने सिमेन्ट उद्योगका नामा अजय सुमार्गीले वर्षौदेखि लाइसेन्स होल्ड गरेर राखेर बसेका छन् ।

छलफल कार्यक्रममा आर्थिक मामिला तथा योजना मन्त्री विन्दमान विष्ट, सामाजिक विकास मन्त्री यज्ञबहादुर बुढाक्षेत्री, प्रमुख सचिव राजकुमार श्रेष्ठलगायत सहभागीको सहभागिता रहेको थियो।

तपाईको प्रतिक्रिया