सुर्खेत । मध्यपश्चिम विश्वविद्यालको मंगलबार हुने दोस्रो दीक्षान्त समारोहमा ५१९ विद्यार्थी दीक्षीत हुने भएका छन् ।
विश्वविद्यालयले विभिन्न पाँच सङ्कायका ५१९ विद्यार्थीलाई कुलपति, उपकुलपति, सुर्खेत उद्योग वाणिज्य सङ्घ स्वर्ण पदक प्रदान गर्न लागिएको जनाएको छ ।
प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति शेरबहादुर देउवाको अध्यक्षता, सन् २०१४ को नोबेल शान्ति पुरस्कार विजेता कैलाश सत्यार्थीको प्रमुख आतिथ्यतामा वीरेन्द्रनगर कुइनेपानीस्थित विश्वविद्यालयको केन्द्रीय कार्यालय परिसरमा दीक्षान्त समारोह आयोजना हुँदैछ । समारोहमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलको उपस्थिति रहनेछ । दीक्षान्त समारोह अघि विश्वविद्यालय सभा सिनेट को बैठक बस्नेछ ।
दीक्षान्त समारोह प्रचार–प्रसार उपसमितिका संयोजक डा लिलाधर तिवारीका अनुसार मानविकी तथा समाजशास्त्र संकायका १५२, व्यवस्थापनका १२२, शिक्षाशास्त्रका ८५, विज्ञान तथा प्रविधिका १५, इन्जिनियरिङका १४५ विद्यार्थी दीक्षीत हुने भएको छ । विश्वविद्यालयले स्नातक, स्नातकोत्तर र विद्यावारिधी उपाधि हासिल गरेका विद्यार्थीलाई दीक्षीत गर्न लागेको हो । विश्वविद्यालयको पहिलो दीक्षान्त समारोह २०७४ साल असार १९ गते भएको थियो ।


दर्शन खबर । ४ बैशाख २०७९, आईतवार