सुर्खेत । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले आगामी स्थानीय तह चुनावका लागि सोमबारदेखि धमाधम मतपत्रको छपाइ थालेको छ।
आयोगले सोमबार कर्णालीका १० जिल्लाको मतपत्र डिजाइन गरेर पठाएको थियो। जसमध्ये जनक शिक्षाले डोल्पाबाट मतपत्रको छपाइ सुरु गरेको हो।
स्रोतका अनुसार डोल्पा जिल्लामा आगामी स्थानीय निर्वाचनमा प्रयोग हुने २६ हजार मतपत्र छपाइको काम सकिएको छ।
डोल्पाको छापेर सकियो, अहिले कर्णालीका अरु जिल्लाको मतपत्र धमाधम छपाइ भइरहेको छ’, जनक शिक्षा स्रोतले भन्यो। स्रोतका अनुसार मंगलबार सुदूरपश्चिम प्रदेशका जिल्लामा प्रयोग हुने मतपत्रको डिजाइन सकिएको छ।
आज हामी सुदूरपश्चिम प्रदेशको डिजाइन फाइनल गरेर पठाउँदैछौँ’,स्रोतले थाहा खबरसँग भन्यो। आयोगले झण्डै २ लाख नमुना मतपत्रको छपाइ सकेपछि निर्वाचनमा प्रयोग हुने मतपत्र छपाइ सुरु गरेको हो ।
निर्वाचनका लागि झण्डै २ करोड मतपत्र छाप्ने आयोगको तयारी छ। जनक शिक्षाले दैनिक ६ लाख मतपत्र छाप्न सकिने जनाएको छ।
मतपत्रमा चुनाव चिह्नको रंग फिका हरियो
निर्वाचन आयोगले मतपत्रमा रहने चुनाव चिह्नको रंग हरियो छाप्ने निर्णय गरेसँगै प्रमुख प्रतिपक्षी नेकपा एमालेले त्यसको विरोध गर्यो। एमाले अध्यक्ष ओलीले सत्तारुढ नेपाली कांग्रेसलाई जिताउन वा जताततै रुखैरुख देखाउन हरियो चुनाव चिह्न राख्न लागिएको समेत आरोप लगाए।
उनले केही सार्वजनिक कार्यक्रममै आफ्नो पार्टीको चुनाव चिह्न सूर्य कसरी हरियो हुन्छ रु भनेर प्रश्नसमेत गरे।


दर्शन खबर । २२ चैत्र २०७८, मंगलवार