
सुर्खेत । पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकारको काम गर्ने क्षमता, दक्षता नभएको आरोप लगाएका छन् । जुम्ला र कालिकोट जाने क्रममा बिहीबार दैलेखको दुल्लुमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले क्षमता र दक्षता दुबै नभएका कारण आफ्नो सरकारको पालामा अघि बढाइएका विकासे आयोजना समेत कटौती गरेको आरोप लगाएका हुन् ।
चुनावपछि एमालेले अहिलेको सरकारले काटेका विकासे योजनालाई अघि बढाने भन्दै स्थानीय तहका मुकामसम्म पुग्ने सडक कालोपत्रे गर्ने बताए ।
अध्यक्ष ओलीले आफ्नै सरकारका पालामा देशभर खरका छानामुक्त अभियान ल्याएको पनि बताए । सो क्रममा दैलेखमा पनि धेरै नागरिकका घर खरका छानामुक्त भएर जस्तापाता लगाएको उनको भनाइ थियो । उनले त्यसबेला बाँकी रहेका घरहरूमा जस्तापाता नपुगेको भए एमालेले पहल गर्ने प्रतिबद्धता पनि जनाए । उनले दैलेखमा पेट्रोलियम पदार्थ रहेको भन्ने पुष्टी भएको र यहाँको मात्र नभई राष्ट्रको विकासमा टेवा पुग्ने बताए । दैलेखमा रहेका धार्मिक स्थलको विकास गर्दै पर्यटनका माध्यमबाट आम्दानी लिन सबै स्थानीय तह लाग्नुपर्ने बताए। अध्यक्ष ओलीले दुल्लुमा एक हजार वर्षअघि नै नेपालको राजधानी रहेको इतिहासले पुष्टि गरेको दाबी समेत गरे ।


दर्शन खबर । १७ चैत्र २०७८, बिहीबार