काठमाडौं । नेपाल विद्युत प्राधिकरणले भारतबाट प्रति युनिट ३८ रुपैयाँमा बिजुली किन्ने भएको छ ।
बिहिबार प्राधिकरणले पत्रकार सम्मेलन आयोजना गर्दै राति १२ बजेर १५ मिनेटदेखि लागू हुनेगरी ३८ रुपैयाँ प्रतियुनिट बिजुली खरिद गर्न लागिएको जनाएको छ ।
विधुत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अहिले सुक्खायाम भएकाले स्वदेशमा उत्पादन कम हुने हुँदा माग धान्नका लागि दैनिक ३ देखि साढे ३ सय मेगावाट बिजुली आवश्यक रहेको जानकारी दिए ।
भारतको ७० प्रतिशत बिजुली कोइलाबाट उत्पादन हुने र कोइलाको भाउ बढेपछि बिजुली महँगिएको घिसिङले बताए ।
‘अहिले केही समयका लागि समस्या भएको छ’, पत्रकार सम्मेलनमा घिसिङले भने, ‘जेठपछि उत्पादन बढ्छ र यो समस्या आउँदैन हामीलाई हाम्रो उत्पादनले पुग्छ।’
करिब ७ देखि ८ महिना विद्युत आयात गर्न नपरे पनि सुक्खायाममा ४ देखि ५ महिना भारतबाट बिजुली ल्याउनुपर्ने बाध्यता छ । अहिले माग धेरै छ, उत्पादन कम छ, त्यसैले अहिले अत्यधिक महंगो भए पनि प्राधिकरणले भारतबाट बिजुली ल्याउँछ, लोडसेडिङ हुन दिँदैनौ । ’अहिले महंगोमा किनेर भए पनि हामी बिजुली उपलब्ध गराउँछौँ, घिसिङले भने, ।
यसअघि प्राधिकरणले प्रतियुनिट ४ देखि ६ भारतीय रुपैयाँमा खरिद गर्दै आएको थियो।
पछिल्लो समय रुस युक्रेन युद्धका कारण विश्वभर कोइला लगायत पेट्रोलियम पदार्थ इत्यादीको भाउ महँगिएको छ ।
दर्शन खबर । १० चैत्र २०७८, बिहीबार