
एजेन्सी ।
जापानले आउने पाँच वर्षमा भारतमा ४२ अर्ब अमेरिकी डलर लगानी गर्ने भएको छ ।
भारत भ्रमणमा रहेका जापानी प्रधानमन्त्री फुमिओ कासिदाले शनिबार जापानको नयाँ लगानीबारे जानकारी दिएका हुन् ।
समाचार संस्था एएफपीका अनुसार पद सम्हालेपछि पहिलो पटक भारत भ्रमणमा आएका कासिदाले शनिबार समकक्षी नरेन्द्र मोदीसँग द्वीपक्षीय वार्ता गरेका थिए ।
वार्ताका क्रममा आर्थिक सहायतादेखि चीन-भारत सीमाको अवस्था र युक्रेनमाथि रूसले गरेको आक्रमणसम्मका विषयमा कुराकानी भएको थियो ।
जापानले रूसी आक्रमणको विरोध गर्दै आएको छ भने भारत अहिलेसम्म यसबारे मौन बसेको छ। प्रधानमन्त्री कासिदाले कुराकानीको क्रममा आफूले मोदीलाई रूसको यो एक पक्षीय आक्रमणलाई स्वीकार गर्न नहुने बताएको जानकारी दिएका छन् ।
जापानले लामो समयदेखि भारतका विभिन्न क्षेत्रमा लगानी गर्दै आएको छ। नयाँ लगानीले भारतका शहरी पूर्वाधारदेखि हरित उर्जासम्म विभिन्न उद्योगहरूलाई फाइदा पुग्ने कासिदाले बताए।
यी दुई मुलुकबीच सन् २०१९-२०२० मा झन्डै १२ अर्ब डलर बराबरको व्यापार भएको थियो। त्यसमा भारतले झन्डै ८ अर्ब डलरको सामान आयात गरेको थियो भने चार अर्ब डलर बराबरको सामान निर्यात गरेको थियो ।
भारतीय विदेश सचिव हर्षवर्द्धन श्रींगलाका अनुसार भारत र जापानले यसअघि सन् २०१४ देखि २०१९ सम्म २९ अर्ब डलरको लगानी लक्ष्य पूरा गरिसकेको बताए ।
जापानले मुम्बई (अहेमदावाद बुलेट रेल बनाउन पनि लगानी गर्ने भएको छ। महाराष्ट्रमा जग्गा अधिग्रहणको समस्या भएपछि उक्त परियोजना अघि बढ्न सकेको छैन । (सेतोपाटी)


दर्शन खबर । ६ चैत्र २०७८, आईतवार