ओ नेता ! बदलिंदैछ छिमेक !!

गोविन्दराज केसी
निश्चित समय सीमाभित्र प्राप्त गर्ने कामहरूको एउटा महत्वपूणर् सूची हो। यसमा स्रोत-साधनको उपलब्धता, पूँजीको व्यवस्थापन, जनशक्तिको जोहो, बाह्य स्रोतहरूको परिचालन तथा व्यवस्थापन गरी तोकिएका योजना तथा कार्यक्रमहरू प्राप्त गर्ने भन्ने हुन्छ ।
दुई विशाल छिमेकीले सन् २०५० भित्र निश्चित गन्तव्य तय गरेका छन् । आवश्यक सरजामको जोहो गर्दै उक्त उद्देश्य प्राप्तिका लागि शृङ्खलाबद्ध कार्यक्रमसहित अगाडि बढिसकेका छन् ।
चीन र भारतले स्वतन्त्रता सँगैसँगै जस्तो प्राप्त गरे। सन् १९४७ मा ब्रिटिश साम्राज्यबाट भारतले स्वतन्त्रता प्राप्त गर्‍यो भने सन् १९४५ मा जापानी अतिक्रमणकारीलाई परास्त गर्दै सन् १९४९ मा चीनले पूणर् स्वतन्त्रता प्राप्त गर्‍यो । यतिखेर चीनले स्वतन्त्रता प्रात गरेको १०० वर्ष पुगेको छ। भारत पनि त्यसैको अनुकरण गर्दै १०० वर्षको स्वतन्त्रता प्राप्तिलाई लक्ष्य वर्ष मानेर नीति, योजना तथा कार्यक्रम तय गरिरहेको छ । चीन लक्ष्य प्राप्तिको लागि योजना कार्यान्वयनमा धेरै अगाडि बढिसकेको छ भने भारत पनि ठोस कार्यक्रमसहित रफ्तारमा अगाडि बढिरहेको छ ।
हुन त नेपाललाई पराइको कहिल्यै दास हुनुपरेन । दक्षिणएशियाको नै जेठो राष्ट्र हौं भन्ने एकप्रकारको गर्व र दम्भ नेपालीमा रहिरह्यो । यसले नेपालीको स्वाभिमानलाई सगरमाथा जस्तै उच्च राखेको छ । तर यही चिन्तन विकास र समृद्धिको सबैभन्दा ठूलो वाधक पनि बनेको छ । जे छ हामी त्यसैमा रमाइरहेका छौं । हामीलाई कहींकतै पुग्नु छैन। कसैसँग प्रतिस्पर्धा गर्नु छैन । विकासको म्याराथुन दौडमा कतै भाग लिनु छैन । उच्चकोटिको युवा जनशक्ति विदेश निर्यात गरेर त्यसैको विप्रेषणमा सुन्दर सपना साँच्ने घटिया चिन्तनको दुश्चक्रमा अझै केही वर्ष नेपालीहरू रुमल्लिने निश्चित छ ।
त्यस्तो हुन्थेन भने हामी किन यस्ता हुन्थ्यौं ? सन् १९७० को दशकमा चीनकै हाराहारीमा प्रतिव्यक्ति आम्दानी थियो नेपालीको। कुनै समय दक्षिण कोरियाको स्तरमा रहेका हामी आज तुलनात्मक आँखाले हेर्दा अन्धकारको दुनियाँमा अल्झिएका छौं । इतिहास नियाल्दा समेत कहालिलाग्दो तस्बिरको सन्नाटाले हरेक सचेत नेपालीको मन चिथोर्छ ।
मध्यमस्तरको जनसंख्या र क्षेत्रफल भएको नेपाल दुई विशाल महादेश आकारका देशको बीचमा उभिनु विकासको कोणबाट निकै महत्वपूणर् छ । झण्डै ३ अर्ब जनसंख्याले घेरिनुलाई सुखद आश्चर्य मान्नुपर्छ । त्योभन्दा महत्वपूणर् कुरा दुवै देश विश्वका महाशक्ति सम्पन्न हुने होडमा आफूलाई होमिरहेका छन ्। चीनले यो दौडमा निकै अगाडि बढेर अमेरिकी एकल प्रभुत्वलाई अन्त्य गरिदिएको छ भने भारत अमेरिकाको भरपर्दो सारथि बन्दै विकासलाई तीव्रता दिएको छ ।
छिमेकीहरू महाशक्तिमा दरिनु आफैंमा खुसीको कुरा हो । छिमेकी देशहरूको आन्तरिक पाटा-पक्षलाई केलाउँदा पनि परिवेश विकासका लागि सहज नै रहेको पाउन सकिन्छ । आतंकवाद, राजनैतिक खिचातानी, अशान्ति, अस्थिरताबाट दुवै छिमेकी माथि उठेर विश्वस्तरको नेतृत्व हात पार्ने होडमा पुगेका छन् । छिमेकीहरूको यस्तो अनुकूल परिस्थितिलाई नेपालले विकासको रूपमा चुम्न नसक्नु ठूलो दुर्भाग्य हो ।
विकासको लागि नेपालको आन्तरिक वातावरण पनि निकै अनुकूल छ । ठूलो जनसंख्या, राजनैतिक स्थिरता, शान्ति, जनस्तरमा देखिने कौतूहल नियाल्ने हो भने हामी छुट्टै परिस्थिति विकास हुँदै गरेको मापन गर्न सक्छौँ । तर त्यसको लागि राजनैतिक नेतृत्व र दलहरूको अहं भूमिका रहन्छ । यही राजनीतिको निणर्ायक तप्का तयार नहुँदा नै हाम्रो विकास र वृद्धिको बाटो रोकिएको हो । अन्य परिस्थिति अनुकूल हुँदाहँदै राजनैतिक नेतृत्व अपारदर्शी, अदूरदर्शी, अनुत्तरदायी चरित्रका कारण नेपालीले निकै ठूलो मूल्य चुकाउनु परिरहेको छ ।
निकै सकस र पीडादायक कुरा यो हो कि मान्छेले मौका पाएर पनि जब आफ्नो क्षमता प्रस्तुत गर्न सक्दैन तब देशले ठूलो मूल्य चुकाउनुपर्छ। बारम्बार देशले चुकाएको मूल्य यही हो। नेतालाई एकपटक होइन दर्जनौं पटक अवसर दिएको छ देश र जनताले। तर तिनीहरूले त्यो मौकाको सदुपयोग कहिल्यै गर्न सकेनन्। किनकि त्यसका लागि आवश्यक क्षमता, ज्ञान र सीप उनीहरूसँग भएन ।
तर वातावरण फेरिन खोजेको छनक मिल्दैछ । अक्सफोर्ड, क्याम्ब्रिज, हार्वर्ड, एमआईटी, एलएसई, एएनयु, सिङहुआ, पेकिङ, टोकियो जस्ता विश्वका उत्कृष्ट विश्वविद्यालयमा पढेका युवा/युवती पुस्ताले देशको बागडोर सम्हाल्ने हिम्मत देखाउँदैछन् । पुराना दल र नेताहरूलाई चुनौती पेश गरिरहेका छन्। अब अति भयो हामी आयौं भनेर मुख खोलिरहेका छन् । भलै आज वा भोलि नै त्यसले सार्थकता पाइहाल्छ भन्ने छैन तर यो नेपाल बन्ने र बनाउने मुख्य आधारशिला हो। अर्को पाँच वर्षमा यसको परिणाम जनजनले स्पष्ट देख्न पाउनेछन् । यसको साइड इफेक्ट पनि छ- त्यो के हो भने यस्तो पुस्ताको हस्तक्षेपले दल र नेतालाई सुध्रिन दबाव पनि दिन्छ ।
यद्यपि हामी कोही पनि समस्याबाट भाग्न सक्दैनौं। प्रत्येक नेपाली देश विकास हुन नसक्नुको पछाडि उत्तिकै जिम्मेवार छौँ । जति चिनियाँ वा भारतीयहरू कामप्रति लगाव दिएर खटिन सक्छन्, त्यो हामीसँग छैन । चियापसलमा बसेर गफ चुट्ने र पुराना दल र नेतालाई गाली दिने बाहेक देशलाई चाहिने दक्ष जनशक्ति बन्न हामी चुकिरहेका छौं । कतिलाई लाग्छ हामीसँग स्रोत-साधन छैन, वातावरण छैन। तर हामीसँग नभएको इच्छाशक्ति हो। सूचनाप्रविधिको विकासले आज दुनियाँलाई यति अवसर जुटाइदिएको छ कि क्षणभरमा खोजेको कुरा उसले भेट्न सक्छ ।
सबैभन्दा महत्वपूणर् नयाँ कुरा सिक्ने जागरुकता, उत्सुकता र लगाव नै हो । हामी त्यसको लागि अझै तयार छैनौं । केही वर्ष अगाडिसम्म यातायात, विद्युत, टेलिफोन, टेलिभिजनको उपलब्धता थिएन, त्यो विस्तारै आयो । मोबाइल वा इन्टरनेटको सुविधा थिएन त्यो पनि आजकल उपलब्ध छ। सूचना सञ्चारको पहुँच थिएन त्यो पनि छ आज। विकासका लागि यी मुख्य आधारशिला हुन् । सबै छन् आज तर त्यसलाई योजनामा ढाल्ने दिमाग, जनशक्ति र स्वीकारोक्ति हामीसँग छैन ।
यही खाडललाई पुर्ने सामर्थ्य आजको युवापुस्ताले राख्यौं भने नेपालको कायाकल्प फेर्न धेरै समय कुर्नुपर्दैन। आम-जनता त्यसको लागि तयार भएर बसेका छन् । सक्षम नेतृत्वको एक कासन पाउँदा मात्र पनि सैन्य पङ्तिमा उभिन तयार छन् नेपाली जनता । हर्क साम्पाङ वा बालेन साहहरूले गरेका अभ्यासले यो तर्कलाई पुष्टि गर्छ ।
नेपालले जलवायु परिवर्तनको नेतृत्व गर्न सक्छ । किनकि जलवायु परिवर्तनको ठूलो मूल्य र जोखिम उठाउने देशमध्ये नेपाल अग्रपङ्तिमा आउनेछ । चीन र भारतले उत्सर्जन गर्ने कार्बन यो क्षेत्रको जलवायु परिवर्तनको मुख्य कारक हो । चीनले झण्डै ३० प्रतिशत र भारतले १० प्रतिशत कार्बन उत्सर्जन गर्ने गर्छ । जबकि नेपालको हिस्सा ०.०२ प्रतिशत मात्र हुन आउँछ । भारत र चीन दुई छिमेकको कारण हामीले मूल्य चुकाउने तर त्यसका लागि उनीहरूले कुनै योगदान नदिने भन्ने हुन सक्दैन । यो मुद्दालाई नेपालले अन्तर्राष्ट्रियकरण गर्न सक्छ । तर त्यसका लागि विस्तृत अनुसन्धान र प्रखर नेतृत्वको जरुरी छ ।
कूटनीतिमा नेपालले निकै ठूलो र निणर्ायक भूमिका खेल्न सक्छ । भारत र चीन विश्वका निणर्ायक शक्ति बन्ने होडमा मात्र छैनन्, सीमा समस्याले जतिबेला पनि युद्धमा होमिन सक्छन् । सबैभन्दा नजिकको छिमेक भएका कारण समस्या समाधानका लागि नेपालले निणर्ायक भूमिका खेल्न सक्छ। तर त्यसको लागि नेपाली नेताहरू तयार नै छैनन् । बरु खतरा के देखिन्छ भने पछिल्लो समय वर्तमान सरकारले अख्तियार गरेको विदेश नीति असन्तुलित र छिमेकहरूलाई चिढ्याउने खालको देखिन्छ । घाँटी जोडिएका विशाल छिमेकीभन्दा लगभग १२ हजार ७०० किमी टाढा रहेको अमेरिकालाई अति निकट देख्ने भयानक खतराले विदेश नीतिमा भ्वाङ परिरहेको छ । नेताहरू यसमा समेत चुकिरहेका छन् ।

 

चीनले ४० वर्षमा ८०० लाख मानिसलाई गरिबीको चक्रबाट मुक्त गर्‍यो । प्रति व्यक्ति आम्दानी १२ हजार ५५६ डलर पुर्‍याएर उच्च आम्दानी भएको देशमा उकाल्न खोज्दैछ । तर पछिल्लो चरण चिनियाँ अर्थतन्त्रले लय गुमाउँदैछ । मध्यम आम्दानीको फन्दा (मिडल इन्कम ट्रयाप) मा फस्ने खतरा पनि रहेको छ । तर भारतको रफ्तार लोभलाग्दो छ । २०२२ को पहिलो त्रैमासमा १३.५ प्रतिशतको वृद्धि हासिल गरेको छ । यो वर्ष ७ प्रतिशत वरिपरिको आर्थिक वृद्धि रहने अनुमान छ। तर हाम्रो अवस्था कमजोर रहेको छ । गत वर्ष ४.३ प्रतिशतले बढेको अर्थतन्त्र यो वर्ष ५.८ प्रतिशतले बढ्ने अनुमान राष्ट्रिय तथ्याङ्क विभागले गरेको छ । यद्यपि यसलाई नराम्रो भन्न त मिल्दैन तर तीव्र आर्थिक वृद्धि हासिल गर्ने आधार हुँदाहुँदै पनि त्यसको सही सदुपयोग हुन नसक्नु हाम्रो नेतृत्वको कमजोरी हो ।
आर्थिक कोणबाट नेपालले चीनभन्दा भारतसँग अथाह फाइदा लिन सक्छ । खुला सिमाना समस्या पनि हो तर उपयोग गर्न जान्ने हो भने त्यसमा अथाह फाइदा छ । भारतका पाँच सबैभन्दा धेरै जनसंख्या भएका प्रदेशमध्ये ३ वटा नेपालसँग सिमाना जोडिएका छन् । नेपालसँग सिमाना जोडिएका चार प्रदेशको कुल जनसंख्या ४५ करोडभन्दा माथि छ । जबकि नेपालको उत्तरी छिमेक चीनको तिब्बतसँग ३६ लाख वरिपरि जनसंख्या रहेको छ ।
व्यापार पारवहन दूरी तथा लागतको हिसाबले पनि चीन हाम्रो उपयुक्त गन्तव्य होइन । तर राजनैतिक खिचातानी तथा वैचारिक अन्तर, नेपाली राजनीतिमा सूक्ष्म व्यवस्थापन र कहिलेकाहीं भारतको हेपाहा प्रवृत्तिले बहुसंख्यक नेपालीको आँखामा भारत ‘जानी दुश्मन’ जस्तो देखिन्छ । यो नेपालको विकासका लागि घातक छ। राजनैतिक नेतृत्वले समयमै यो चिन्तनबाट मुक्त भएर सुमधुर कूटनैतिक सम्बन्धमार्फत राष्ट्रिय हितलाई अगाडि बढाउनुपर्छ ।
भारत यतिबेला अन्तर्राष्ट्रिय मामिलामा निणर्ायक बन्न खोज्दैछ। अमेरिका पनि भारतलाई चिढ्याउन चाहन्न । रुसलाई विश्वबाट एक्ल्याउँदा समेत भारतले अमेरिकी नाकाबन्दीलाई चुनौती दिंदै तेल आयात गर्‍यो । रुसमा जारी युद्ध अभ्यासमा चीनसँगै भारतले पनि सहभागिता जनाएको छ। सबैलाई इन्गेज गराउने ध्यानमा भारत देखिन्छ ।
गत महिना थाइल्याण्डमा आयोजित कार्यक्रममा भारतीय विदेशमन्त्री एस. जयशंकरले चीनले अगाडि सारेको ‘एशियाली शताब्दीबारे’ बोल्दै चीन र भारत एकठाउँमा नउभिने हो भने एसियाली शताब्दीको सपना पूरा नहुने बताएका थिए । त्यसका लागि सीमा विवादलाई हल गर्नुपर्ने उनको जोड थियो। उक्त अभिव्यक्तिलाई चिनियाँ मिडियाहरूले महत्वका साथ प्रकाशित गरेका थिए ।

यसको आशय भारतले चीनलाई पनि सन्तुलनमा राखेर आफ्ना गतिविधि आक्रामक ढङ्गले अगाडि बढाउन चाहन्छ । यदि भारत आज विश्वको दोस्रो ठूलो आर्थिक शक्ति हुन्थ्यो र अमेरिकालाई चुनौती पेश गर्थ्यो भने अमेरिकाले १९८० मा जापान र अहिले चीनलाई जुन व्यवहार गरिरहेको छ, त्यो भारतले व्यहोर्नुपर्थ्यो भन्ने भारतले राम्रोसँग बुझेको छ । यही अनुरूप भारत आफूलाई ढाल्न चाहन्छ ।
सवाल नेपालले आफूलाई कसरी तयार पार्ने भन्ने हो । राजनैतिक स्थिरताले मात्र विकास र समृद्धि प्राप्त नहुने रहेछ भन्ने अनुभवले पुष्टि गरेको छ । विगत पाँच वर्षमा देशले शान्ति, स्थिरता र राजनीतिक अनुकूलता हात पारे पनि सोही अनुरूपको आर्थिक विकास हासिल गर्न सकेन। संघदेखि स्थानीय तहसम्म निर्वाचित उम्मेदवारहरूले विकासको मूल मर्मलाई आत्मसात् गर्न सकेको देखिएन । स्थानीय तहमा बजेट निर्माण र विनियोजन गर्दा मठ-मन्दिर, चर्च, गुम्बा, सत्तल, पाटीपौवा निर्माण जस्ता अनुत्पादक क्षेत्रमा गएको देखिन्छ । यसले हाम्रो नेतृत्वले आजको विश्वले सामना गरिरहेको चुनौतीलाई अनुभूति समेत गर्न नसकेको देखिन्छ। १० प्रतिशत माथिको आर्थिक वृद्धि हासिल गर्ने थुप्रै आधार छन् । तर त्यसको लागि आवश्यक योजनाको स्पष्टता देशले मागिरहेको छ ।
दक्ष जनशक्ति अहिलेको टड्कारो आवश्यकता हो। देशले भोगेको मूल समस्या नै यही हो । योजना निर्माण, दक्ष जनशक्तिको विकास, स्रोत-साधनको व्यवस्थापन र उद्देश्यको किटानी सही तरिकाले नहुने बेलासम्म देशले अपेक्षा गरेको आर्थिक विकास हासिल गर्न सक्दैन । कम्तीमा दल तथा यसको नेतृत्वले छिमेकीहरूको अनुभवबाट सिक्ने प्रयास गर्दा राम्रै हुन्छ कि !
लेखक- त्रिभुवन विश्वविद्यालयबाट विद्यावारिधी गरिरहेका लेखक भू-अर्थ राजनीतिमा कलम चलाउँछन् ।
अनलाईनखबर बाट

तपाईको प्रतिक्रिया