पानीका लागि एक घण्टा पैदल

सुर्खेत / सल्यानको कालिमाटी गाउँपालिका–२ खैरेकाडाका स्थानीय साढे ३ महिनादेखि घर नजिकैको धाराको पानी उपभोग गर्नबाट वञ्चित भएका छन् । पैयाकाडा–कोछट्टे सडक निर्माणको क्रममा डोजरले गफागुन अन्तिम साता खानेपानी योजनाका पाइपहरू तहसनहस बनाएपछि स्थानीयहरू खानेपानी सुविधाबाट वञ्चित भएका हुन् ।

पटकपटक खानेपानी योजना मर्मत गर्न आग्रह गरिए पनि बेवास्ता भएपछि स्थानीयलाई १ गाग्री पानी १ घण्टा हिँड्नुपर्ने बाध्यता छ । खैरेकाडाका २२ परिवार अहिले पानीका लागि १ घण्टा पैदल हिँडेर स्थानीय जरुवाखोलामा पानी भर्न जान बाध्य छन् । ‘पानीकै समस्याका कारण समयमै खाना खान नपाउँदा बालबालिकाको पढाइ अनियमित भएको छ,’ स्थानीय थम्मनबहादुर घर्तीले भने, ‘अहिले त बालबालिका र महिलाको साँझ–बिहानको काम नै पानी ओसार्ने भएको छ ।’ उनका अनुसार पानीको अभावमा सरसफाइका काम प्रभावित भएका छन् भने गाउँका सबै शौचालय प्रयोगविहीन छन् ।

असार लागे पनि वर्षा सुरु नहुँदा पानीका लागि धेरै कष्ट उठाउनु परेको स्थानीय कमल घर्तीले बताए । ‘वर्षा सुरु भए कम्तिमा बलेसीको पानी थापेर प्रयोग गर्न मिल्थ्यो होला, खडेरी बढेको बढ्यै छ,’ उनले भने, ‘स्थानीय तहले सडक बनाउँदा जथाभाबी बनाउँछ, त्यसको क्षतिबारे बेवास्ता गर्छ, हामीले कति पटक पालिकासँग नयाँ पाइप जडान गर्न आग्रह गर्‍यौं, तर बेवास्ता भयो ।’

२०४५ मा एसियाली विकास बैंकको झन्डै १ करोड रुपैयाँको अनुदानबाट जिल्ला खानेपानी कार्यालयले उक्त खानेपानी योजना निर्माण गरेको हो । उक्त योजनामा मूलखोलाको मूलबाट पानी लगेर पैयाकाडा, कोछट्टे र खैराकाडामा पानीको सुविधा पुर्‍याइएको थियो । पानीको अभावमा बिहान झिसमिसेमै खोलातिर दौडिनुपर्ने बाध्यता भएको स्थानीय शान्ता ओलीले बताइन् । उनका अनुसार खोलामा छिटो नपुगे पानी धमिलो हुन्छ भने पानी भर्न लाइन बस्नुपर्ने बाध्यता छ ।

‘पानीको अभावले राम्ररी सुत्न पनि पाइँदैन, दिउँसो चर्को घाममा बाहिर निस्कन नसकिने भएकाले साँझ–बिहान ल्याएको २ गाग्री पानीको भरमा दिनभरका पानीका आवश्यक्ता पूरा गर्छौं,’ उनले भनिन्,‘एउटा घरका कम्तिमा २ जनाको काम नै पानी ओसार्ने हुन्छ ।’

गाउँदेखि खोलामा झर्ने गोरेटो बाटो अप्ठेरो भएकाले हिँड्दा लड्ने र चोटपटक लाग्ने जोखिम भएको उनले बताइन् । उनका अनुसार पैयाकाँडा–कोछट्टे सडक खन्ने क्रममा जमिनमुनि गाडेको झन्डै ८ सय मिटर पाइप तहसनहस भएको छ । निर्वाचनको समय भएकाले स्थानीयको मागअनुसार समयमै योजना मर्मत गर्न नसकिएको कालिमाटी गाउँपालिका अध्यक्ष दानबहादुर खत्रीले बताए । जिल्ला खानेपानी कार्यालयका प्रमुख पदमराज देवकोटाले स्थानीयको मागअनुसार योजना मर्मतका लागि प्राविधिक टोली पठाइएको बताए । कान्तिपुर

तपाईको प्रतिक्रिया